२० वर्षीया महिलालाई आर्थिक प्रलोभनमा पारेर भारत लगेर बेचविखन गरेको आरोपमा प्रहरीले घोराही उमनपा–१४ का ३९ वर्षीया टोपली सार्की र ५२ वर्षीय बिमुसा सार्कीलाई गिरफ्तार गरेको छ ।
घोराही उपमनपा–१४ स्थित शेखर होटलबाट उनीहरूलाई फागुन ४ गते गिरफ्तार गरी प्रहरीले फागुन ९ गते पत्रकार सम्मेलन गरी सार्बजनिक गरेको हो ।
राम्रो तलबमा नोकरी लगाइ दिने भन्दै ०७९ माघ २१ गते घोराहीबाट भारतको चण्डीगढ लगेर महिलालाई कोठीमा बेचबिखन गरेको र त्यसै दिनदेखि १२ दिनसम्म यौनजन्य क्रियाकलापमा लगाएको भन्दै पीडितका परिवारले माघ २२ गते जिल्ला प्रहरी कार्यालय दाङमा उजुरी दिएका थिए ।
प्रहरीले विभिन्न सङ्घ संस्थाको सहयोगमा पीडितलाई फागुन ४ गते उद्दार गरी नेपाल ल्याएको प्रहरीले जनाएको छ । आरोपितहरूलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका एसपी बीरबहादुर वलीले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण फागुन ४ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको थियो ।