सिद्धिचरण नगरपालिका–४ रुम्जाटारकी २७ वर्षीया कृष्णकुमारी गजमेरले दलित भएकै कारण मन्दिरमा पुजा गर्न प्रवेश नपाएको विषयमा फागुन ७ गते मिलापत्र गरिएको छ ।
फागुन ६ गते शिवरात्रीका दिन सिद्धिचरण नगरपालिका–४ रुम्जाटारको शिव मन्दिरमा दलितलाई गमजेरलाई शिव मन्दिरको रेखदेख गर्दै आएका २४ वर्षीय लक्ष्मण गुरुङले मन्दिर प्रवेश रोकमा रोक लगाएपछि दलित समुदायका स्थानीय जातीय विभेद भएको भन्दै आन्दोलित भएका थिए ।
मन्दिर प्रवेश नपाएको भन्दै फागुन ६ गते दलित समुदायले जिल्ला प्रशासन कार्यालय घेराउ गर्दै जातीय विभेद भएको भनि ज्ञापन पत्र बुझाएका थिए ।
शिव मन्दिर संरक्षण समितिका पदाधिकारीहरूले मिलेमतोमा दलितलाई अवरोध गरेको भन्दै दलित समुदायले जिल्ला प्रशासन कार्यालयमा घेराउ गर्दै ज्ञापनपत्र बुझाएका थिए ।
दलितलाई सार्वजनिक स्थलहरूमा निर्वाध प्रवेश र पहुँच हुनुपर्ने, सबै मन्दिरहरूमा दलितलाई पूजाआजा गर्न दिनुपर्ने माग राखेर ज्ञापन बुझाइएको र मन्दिर प्रवेश गर्न नदिएको विषयमा मिलापत्र गरेको दलित अगुवा युवराज गजमेरले बताउनु भयो ।
जिल्ला प्रशासन कार्यालयमा फागुन ७ गते मिलापत्र गरिएको प्रशासन कार्यालयले जनाएको छ ।
सिद्धिचरण नगरपालिकाका मेयर तेजेन्द्र खनाल, प्रमुख जिल्ला अधिकारी प्रदर्शनी कुमारी, ओखलढुङ्गा जिल्ला प्रहरी कार्यालयका एसपी दीपकबहादुर केसी र पीडित पक्षको उपस्थितिमा पाँच बुँदे निर्णय गरेर मिलापत्र गरिएको हो ।
मन्दिरहरूमा लगाएको ताला खोल्ने, सबै दलितलाई निर्वाध रूपमा प्रवेशको वातावरण बनाउने, मन्दिर व्यवस्थापनमा दलितको प्रतिनिधित्व गराउने, अब उप्रान्त दलितलाई मन्दिर प्रवेश गर्न रोक लगाउने माथि कारवाही गर्ने भन्ने निणर्य गरेर मिलापत्र गरिएको प्रमुख जिल्ला अधिकारी प्रदर्शनी कुमारीको भनाइ छ ।
नेपालको संविधानको प्रस्तावना, जातीय तथा अन्य छुवाछुत र भेदभाव (सजाय र कसुर) ऐन, २०६८ ले जातीय तथा अन्य सामाजजक छुवाछूत र भेदभाव विरुद्धको अधिकार हरेक नागरिकको सुरक्षित गरेको छ ।
सो ऐनमा प्रत्येक व्यक्तिलाई जातीय तथा अन्य छुवाछूत तथा भेदभाव विरुद्धको अधिकार हुने, सामाजिक सेवामा समान पहँुचको अधिकार, सार्वजनिक स्थानमा समान पहुँचको अधिकार हुने, कसैले जातीय तथा अन्य छुवाछूत र भेदभाव गर्न, दुरुत्साहन गरेमा ऐन बमोजिमको कसूर गरेको मानिने उल्लेख छ ।

