१३ वर्षीया बालिकालाई बलात्कार घटनाका फरार कसुरदार बेलौरी नगरपालिका–३ का ४९ वर्षीय राजेन्द्र सुनारलाई १७ वर्षपछि घरमा लुकिछिपि बसेको अवस्थामा फागुन ४ गते गिरफ्तार गरेको छ ।
जिल्ला अदालतले कसुर ठहर गरी कैद सजायको फैसला सुनाएको भए पनि कसुरदार फरार रहेकाले १७ वर्ष पछाडि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका इन्स्पेक्टर भरत गिरीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
०६२ जेठ ४ गते जिल्ला अदालतको फैसला अनुसार सुनारलाई सात वर्ष कैद सजायको फैसला भएकोले कसुरदारलाई फागुन ४ गते जिल्ला अदालतमा पेस गरी सजाय भुक्तानीका लागि कारागार चलान गरिएको इन्स्पेक्टर गिरीले बताउनु भयो ।
०५९ जेठ २५ गते बालिकालाई बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपित सुनार विरुद्ध जिल्ला प्रहरी कार्यालयमा जेठ २६ गते उजुरी दिएका थिए ।
प्रहरीले सरकारी वकिल कार्यालयमार्फत ०५९ जेठ २८ गते आरोपित विरुद्ध जबरजस्तीकरणी अन्तर्गत जिल्ला अदातलमा मुद्दा दर्ता गरेको थियो ।
पीडितको स्वास्थ्य परीक्षण ०५९ जेठ २६ गते महाकाली अस्पतालमा भएको थियो ।