अज्ञात समूहले जानकी गाउँपालिका-६ स्थित गनापुरमा रहेको जय बागेश्वरी सिमेन्टका सञ्चालक तथा म्यानेजर ५० वर्षीय एमएल शर्मालाई जेठ २१ गते राति आक्रमण गरेको गनापुर प्रहरी चौकीले जनाएको छ ।
उद्योगबाट राति नेपालगञ्जतर्फ फर्कँदै गर्दा दुई जनाको सङ्ख्यामा आएका व्यक्तिले कार रोकेर बिच सडकमा कुटपिट गर्दै मोबाइलसमेत लुटेको पीडितले बताए । अज्ञात समूहको आक्रमणबाट पीडित शर्माको टाउको, अनुहार, हात र छातीमा समान्य चोट लागेको छ ।
घाइते सामान्य उपचारपछि हाल घरमा रहेको गनापुर प्रहरी चौकीका असई मोहन केसीले बताए । उनले घटनाको छानबिन भइरहेको समेत बताए । घटनाका सम्बन्धमा इलाका प्रहरी कार्यालय कोहलपुरका सई सुरेन्द्र पन्तले अनुसन्धान भइरहेको बताए ।