वाइसिएल नेपाल राजविराजका सहसंयोजक राजविराज नगरपालिका–१ का २१ वर्षीय प्रेमकुमार यादवलाई हत्या गरेको कसूरमा अदालतले राजविराज नगरपालिका–१२ का २५ वर्षीय मिथलेशकुमार यादव, राजविराज नगरपालिका–११ का २० वर्षीय आनन्दकुमार यादव र २९ वर्षीय जयप्रकाश यादवलाई माघ २९ गते जन्मकैदको सजाय गरेको छ ।
राजविराज नगरपालिका–११ का १७ वर्ष १० महिना २१ दिनका बालक र २२ वर्षीय उदित भनिने बुधितनारायण यादवले सफाइ पाएका छन् ।
अन्य १० जना आरोपित हालसम्म फरार रहेकाले निजहरूका हकमा पछि गिरफ्तार भएका बखत कारबाही प्रक्रिया अगाडि बढाउने गरी मुद्दा मुल्तबीमा राख्ने अन्तिम फैसला गरिएको छ । फरार रहेका सप्तकोशी नगरपालिका–१ फत्तेपुरका २२ वर्षीय बिक्की भनिने ओमप्रकाश यादव, राजविराज नगरपालिका–११ का ४४ वर्षीय राजेन्द्रप्रसाद यादव, सोही ठाउँका २३ वर्षीय महानन्द यादव, २९ वर्षीय धर्मु भनिने धर्मेन्द्र यादव, २१ वर्षीय संजयकुमार यादव, २४ वर्षीय रघुवा भनिने रघुनाथ यादव, २३ वर्षीय सावन आलम, राजविराज नगरपालिका–२ का ३५ वर्षीय नागेश्वर प्रसाद यादव, २० वर्षीय धर्मेन्द्र यादव र सोही उमेरका ओमप्रकाश यादवको मुद्दा मुल्तबीमा गएको हो ।
आरोपितहरूले २०७५ असोज २३ गते बिहान नौ बजे गरेको आक्रमणबाट असोज २४ गते राति मृत्यु भएको भन्दै मृतकका बुबा भन्नालाल यादवले जिल्ला प्रहरी कार्यालय सप्तरीमा असोज २८ गते उजुरी दिनु भएको थियो ।
राजविराज नगरपालिका–२ स्थित पिस जोन बोर्डिङ्ग स्कुल अगाडि बाटोमा पीडितलाई घेरा हाली आरोपितहरूले धारिलो हतियारले प्रहार गरी हत्या गरेको मृतकका बुबा यादवले बताउनु भयो । घाइते यादवको उपचारका क्रममा बिराटनगरस्थित न्युरो अस्पतालमा मृत्यु भएपछि ०७५ असोज २५ गते कोशी अञ्चल अस्पताल विराटनगरमा लाशको पोष्टमार्टम भयो । मृतकको टोलवासी र परिवारका सदस्यहरूले ०७५ असोज २५ गते राजविराजमा लाशसहित नगर परिक्रमा गर्दै जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय पुगी नाराबाजी गरेका थिए । पुरानो रिसइवीका कारण भएको झडपमा यादवको हत्या भएको प्रहरीले जनाएको छ ।
हत्या आरोपमा जिल्ला प्रहरी कार्यालयले ०७५ असोज २८ गते उजुरी दर्ता गरी राजविराज नगरपालिका–११ का १७ वर्षीय बालकलाई असोज २८ गते र मिथलेशलाई असोज ३१ गते गिरफ्तार गरेको थियो । जिल्ला अदालतको मङ्सिर ४ गतेको आदेशमा मिथिलेश पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् । गिरफ्तार बालक संरक्षक आमाको जिम्मामा तारेखमा रिहा भएका थिए ।
फरार रहेका राजविराज नगरपालिका–११ का २० वर्षीय आनन्दलाई प्रहरीले ०७५ मङ्सिर २२ गते सुनसरीको कोशी गाउँपालिका–१ लौकहीबाट गिरफ्तार गरेको थियो । जिल्ला अदालतको आदेशले आरोपित आनन्द मङ्सिर २५ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् ।
जिल्ला अदालतमा हाजिर भएका जयप्रकाश चार लाख रुपियाँ धरौटी राखि पुर्पक्षका लागि रिहा भएका थिए । उच्च अदालत जनकपुर राजविराज इजलाशले जिल्ला अदलातको आदेश बदर गर्दै जयप्रकाशलाई थुनामा राखी पुर्पक्ष गर्न आदेश गरेको थियो । आदेशपछि जयप्रकाश फरार रहेको मृतकका बुबा भन्नालालले बताउनु भयो ।
सफाइ पाएका आरोपित उदित ०७७ फागुन ४ गते अदालतमा हाजिर भएकोमा सोही दिन २५ हजार रुपियाँ धरौटीमा पुपक्र्षका लागि तारेखमा रिहा भएका थिए ।