नेपाल चिकित्सक संघको आह्वानमा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित प्रादेशिक अस्पताललगायत स्वास्थ्य संस्थाहरूमा स्वास्थ्यकर्मीहरूको आन्दोलनले आकस्मिक सेवा बाहेकका सम्पूर्ण स्वास्थ्य सेवा प्रभावित भएको छ । प्रादेशिक अस्पतालसंगै सरकारी तथा गैरसरकारी, निजी अस्पताल, निजी तथा सरकारी मेडिकल कलेज, प्रतिष्ठान लगायतका सम्पूर्ण स्वास्थ्य संस्था तथा अस्पतालहरूमा आकस्मिक सेवा बाहेकका अन्य सम्पूर्ण सेवाहरू माघ २९ गते विहानैदेखि ठप्प पारिएको चिकित्सक संघ जनकपुर शाखाका अध्यक्ष डा. रामजी यादवले बताउनुभयो । ०७९ माघ २७ गते राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको क्रममा ट्रमा सेन्टरका एक चिकित्सकलाई सुरक्षाकर्मीले लाठी प्रहार गरेर घाइते बनाएको भन्दै संघले माघ २९ गते एक दिन देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द गर्ने निर्णय गरे अनुसार आज सेवा प्रवाह बन्द गरेको चिकित्सक संघ जनकपुरका सचिव डा. रामज्ञान यादवले बताउनुभयो ।
नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीका अनुसार देशभरका सरकारी तथा गैरसरकारी र निजी अस्पताल, मेडिकल कलेज, प्रतिष्ठान लगायत सबै प्रकारका स्वास्थ्य संस्थाहरुमा आकस्मिक बाहेकका सेवा बन्द गरिएको छ ।