INSEC Online

📅 २०८३ जेष्ठ २१

छुवाछुत अन्त्य गर्न हरेक व्यक्तिको मानसिकता परिवर्तनको जरूरी

राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक समस्यामा कारण दलित समुदायका व्यक्तिहरूले अहिले पनि विभेद सहनुपरेको जेठ २१ गते इलाममा आयोजित एक कार्यक्रमका सहभागीले निचोड निकालेका छन् ।

नेपालको संविधानको प्रस्तावनमै सबै प्रकारका विभेद र उत्पीडनहरूको अन्त्य गर्नै कुरा राखिएको भएपनि अझै नेपाली समाजमा छुवाछुत र विभेदको अवस्था कायम रहेको सहभागीले बताए ।

‘सातौं राष्ट्रिय छुवाछुत मुक्त दिवसका’ अवसरमा सम्पन्न कार्यक्रममा राजनीतिक र आर्थिक कारण दलित समुदायले सामाजिक र सांस्कृतिक विभेदको शिकार हुनु परेको सहभागीको भनाइ थियो ।

कार्यक्रममा देवेन्द्र विश्वकर्माले नेपालको संविधान र कानुनहरूमा छुवाछुत अन्त्य गर्न गरिएका व्यवस्था र राज्य पुनःसंरचना पनि स्थानीय तहहरूमा दलित समुदायका व्यक्तिको सहभागिता विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्र प्रस्तुत गर्दै विश्वकर्माले २०६३ जेठ २१ गते प्रतिनिधि सभा बैठकले नेपाललाई छुवाछुत मुक्त देश घोषणा गरेको भएपनि अझै नेपाली समाजमा विभेद निर्मूल नभएको बताए ।

मुक्ति समाजका अध्यक्ष नवराज शङ्करको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लास्थित दलित समन्वय समितिका उपाध्यक्ष जीवन नेपालीले अझै पनि राज्यको मूल प्रवाहमा दलित समुदाय समाहित हुन बाँकी रहेको बताए ।

अहिले पनि राज्यको मूल प्रवाहमा एक प्रतिशतमात्र दलित सहभागिता रहेको बताउँदै समाजलाई परिवर्तन गराउन लिखित कानुन आवश्यक नभएको र हरेक मान्छेको मानसिकता परिवर्तन हुन जरूरी रहेको बताए । ‘हरेक व्यक्तिको मानसिकतामा परिवर्तन भयो भने कानुनमा लेखिनु आवश्यक छैन । त्यसै विभेद अन्त्य हुन्छ ।’-उनले भने ।

स्थानीय विकास अधिकारी ध्रुवबहादुर खड्काले विभेदले समाजमा जरा गाडेको बताउँदै विभेद हटाउन दबावको अवश्यकता भन्दा सचेतनाको आवश्यकता रहेको बताए । उनले भने-‘अहिले सीपमूलक, व्यवसायमूलक कार्यक्रमहरू धेरै गरिन्छ । तर, त्यसको प्रभाव यो समुदायमा देखिएको पाईँदैन ।’ खड्काले भने-‘अब यस्ता कार्यक्रमहरूमा पनि परिवर्तन गर्न जरूरी छ । ताकि एउटा बाख्राको पाठो व्यसायका लागि दिइयो भने त्यसबाट त्यो व्यक्तिले कति लगानी गर्छ र मुनाफा गर्छ । यस्ता कुराको मुल्याङ्कन गर्न जरूरी भएको छ ।’

अन्य

भिडियो