INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार कसुरदारलाई दश वर्ष कैद सजाय

१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा राजगढ गाउँपालिका–४ बेल्ही चपेना छातापुर टोलका २५ वर्षीय शम्भुकुमार रामलाई १० वर्ष कैद सजाय भएको छ ।

सप्तरी जिल्ला अदालतका न्यायाधीश श्यामबिहारी मौर्यको इजलाशले आरोपितलाई १० वर्ष कैदका साथै फौजदारी कसुर पीडित राहत कोषमा १ हजार ८ सय रुपियाँ जम्मा गर्नुपर्ने फैसला गरेको छ । यस्तै पीडितलाई ५० हजार रुपियाँ क्षतिपूर्ति भराइ दिनु पर्ने समेत फैसलामा उल्लेख छ ।

आरोपितले ०७७ वैशाख २१ गते राति बलात्कार गरेको भन्दै पीडितका बुबाले वैशाख २२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको थियो । जिल्ला प्रहरी कार्यालयले ०७७ वैशाख २२ गते नै उजुरी दर्ता गरेको थियो । घरमा सुतिरहेका बेला ०७७ वैशाख २१ गते राति तीन जना प्रवेश गरेकोमा अपरिचित दुई जना फरार भएको र आरोपितले बलात्कार गरेको पीडितले बताउनु भयो । आरोपितले भने आपसी सहमतिमा एक्लै गएपनि बलात्कार नगरेको बताउँदै आएका छन् ।

गाउँलेहरूले घटनास्थलमै आरोपितलाई नियन्त्रणमा लिई कुटपिट गरेर प्रहरीलाई बुझाएका थिए । पीडितको ०७७ वैशाख २२ गते राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा स्वास्थ्य परीक्षण भएको थियो ।

जिल्ला अदालतमा ०७७ जेठ ११ गते अभियोगपत्र दायर भएकोमा सोही दिनदेखि आरोपित पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् ।

अन्य

भिडियो