छाँयानाथ रारा नगरपालिका—११ रोवामा रहेको श्री प्रभात माध्यमिक विद्यालयमा शिक्षक नहुँदा विद्यार्थीहरूलाई पढाईमा बाधा पुगेको छ ।
विद्यालयमा १८ जना शिक्षकको दरबन्दी रहेको छ । हाल नौ जना शिक्षक मात्र कार्यरत हुनुहुन्छ । अन्य नौ जना शिक्षकहरू विद्यालय बाहिर रहेकाले विद्यार्थीहरूको पढाईमा बाधा पुगेको हो ।
प्रारम्भिक शिक्षा देखि १२ कक्षासम्म पढाई हुने यो विद्यालयमा ६ सय ८ जना विद्यार्थी छन । विद्यालयका प्रद्यानाध्यापक रञ्जिता कर्णसहित दुई जना शिक्षक मङ्सिरदेखि घर बिदामा हुनुहुन्छ । अर्का एक जना शिक्षक कता हुनुहुन्छ कसैलाई थाहा छैन । ६ जना शिक्षक सेवा आयोगको तयारीमा हुनुहुन्छ । १८ जना शिक्षक मध्ये १५ जना अस्थाई र तीन जना स्थाई शिक्षक भएपनि अहिले विद्यालयमा नौ जना मात्र शिक्षक कार्यरत हुँदा विद्यार्थीको पढाईमा बाधा भएको छाँयानाथ रारा नगरपालिका—११ का अभिभावक धन बहादुर बुढाले बताउनु भयो ।
नजिक एसईई परिक्षा आउन लागेको छ । विद्यालयमा विषयगत शिक्षक हुनुहुन्न । विषयगत शिक्षक कोही घर बिदामा हुनुहुन्छ भने कोही शिक्षा सेवा आयोगको तयारीमा हुनुहुन्छ । शिक्षक नहुँदा ७ र ८ कक्षाको विद्यार्थीलाई संयुक्त रुपमा पढाई हुने गरेको छ । हाम्रो पढाईमा धेरै बाधा हुन पुगेको छ । शिक्षकलाई छिटै विद्यालयमा उपस्थित गराउन कसैले पहल गरेको छैन कक्षा १० मा अध्यनरत छात्रा रेवती बुढाले बताउनु भयो । कक्षा ८ मा अध्यनरत कैलाश कुमाईका अनुसार शिक्षक हुँदा सबै बिषय आफनै कक्षामा पढ्ने गरेका थियौ। अहिले शिक्षक नहुँदा कक्षा ७ र ८ का सबै विद्यार्थी संयुक्तरुपले पढ्दा केही नबुझिने बताउनु भयो ।
लामो समयदेखि विद्यालयमा शिक्षक नहुँदा विद्यार्थीको पढाईमा बाधा भएको भन्ने जानकारी आएको छ । के कति कारणले शिक्षकहरू विद्यालय बाहिर छन । विद्यालयको अनुगमन गरी त्यस्ता शिक्षकहरूलाई आवश्यक कारबाहीकालागि नगरपालिकालाई सिफारिस गर्न सकिने छाँयानाथ रारा नगरपालिका–११ का वडा अध्यक्ष कुञ्जुमा कुमाईले बताउनु भयो ।