नेत्रविक्रमचन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीले कैलालीका जिल्ला शिक्षा अधिकारी मानसिंह विष्टमाथि जेठ १९ गते कालोमोसो दलेर दुर्व्यवहार गरेको छ ।
शैक्षिक सुधारमा ध्यान नदिएको र यसअघि विद्यार्थी सङ्गठनहरू तथा जिल्ला शिक्षा कार्यालयबिच शैक्षिक सुधारका विषयमा भएको सहमति कार्यान्वयन नगरिएकोले मोसो दलेको सो सङ्गठनले जनाएको छ ।
कार्यकक्षमा अपरिचित तीन जनाको समूह आएर नाम सोधेको र पछि आफूमाथि ‘मोविल’ फालेर भागेको शिक्षा अधिकारी मानसिंह विष्टले बताए ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी बीरबहादुर बुढामगरले जिल्ला शिक्षा अधिकारीमाथि दुर्व्यवहार भएको आधिकारिक जानकारी प्रहरीलाई आइनसकेको प्रतिक्रिया दिए ।
विद्यालयहरूले बढाएको शुल्क समायोजन गर्ने, विद्यालय वर्गीकरण गर्ने, अवैधानिक विद्यालय र ट्युसन सेन्टर खारेज गर्ने लगायत विषयमा सहमाति भए पनि कार्यान्वयन नभएकोले मोसो दलेको सो सङ्गठनले जनाएको छ ।