INSEC Online

📅 २०८३ जेष्ठ २१

आठ वर्षपछि जन्मकैदको फैसला

छिन्नमस्ता गाउँपालिका–१ की ६६ वर्षीया राजेश्वरीदेवी राय भनिने राज्यवती अमात्यनीको हत्या घटनासम्बन्धी मुद्दाका आरोपितहरु ६० वर्षीय विद्यानन्द राय र उनका भाई ५५ वर्षीय शिवानन्द रायलाई माघ २३ गते जन्मकैद सजायको फैसला भएको छ ।

जिल्ला न्यायाधीश हेमन्त रावलको इजलाशले सोही ठाउँका विद्यानन्द र शिवानन्दलाई जन्मकैद सजायको फैसला भएको अदालतले जनाएको छ । अभियुक्त दुबै जना मृतकका देवर हुन् र हालसम्म फरार छन् ।

आठ वर्षदेखि पेशी चढ्दै, रोकिदै आएको सो मुद्दाको फैसलामा भएको ढिलाईबारे इन्सेक अनलाइनमा समाचार प्रकाशन भएको एक साताभित्रै फैसला भएको हो । इन्सेक अनलाइनमा माघ १८ गते मृतकका छोराको फोटोसहित “आठ वर्षदेखि धाउँदै अदालत” शिर्षकमा विस्तृत समाचार प्रकाशन भएको थियो । सप्तरी जिल्ला अदालतमा १८ न्यायाधीशले हेरिसकेको मुद्दाको ६१ पटक पेसी चढे पनि मुद्दाको फैसला भएको थिएन ।

सप्तरी जिल्ला अदालतले शिवानन्दलाई ०७४ साउन ४ गते २० हजार रुपियाँ र विद्यानन्दलाई ०७४ असोज १ गते १५ हजार रुपियाँ धरौटीमा छाड्न आदेश गरेको थियो । जिल्ला अदालतको आदेशहरूबाट असन्तुष्ट बनेका मृतकका छोरा बेचनकुमार रायले उतिबेला इजलाश परिवर्तनको निवेदन समेत दिनुभएको थियो । उच्च अदालतले ०७५ असार ७ गते उक्त आदेश सदर गरेपछि बेचनले ०७५ साउन २० गते सर्वोच्च अदालतमा निवेदन दिनुभएको थियो । सर्वोच्च अदालतले मातहतका दुबै अदालतको आदेश बदर गर्दै ०७७ असार ५ गते दुबै आरोपितलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो । त्यसपछि हालसम्म दुवै जना फरार छन् ।

हावाले लडेका रूखका हाँगा बेचनले घर ल्याएपछि विवाद बढ्दै कुटपिट हुँदा लाठी र फलामको रड प्रहारबाट राज्यवती अमात्यनीको २०७१ चैत १९ गते हत्या भएको थियो । बेचनले घटनाकै दिन जिल्ला प्रहरी कार्यालय सप्तरीमा उजुरी दिनुभएको थियो । उक्त मुद्दामा ६१ पटक पेसी रोकिएपछि मृतकका छोरा बेचन जिल्ला, उच्च र सर्वोच्च अदालतको गोलचक्कर लगाइरहनु भएको थियो ।

फैसलाका लागि मुद्दाका सबै अंग पुगेपनि अस्वाभाविक ढिलाइले आर्थिक नोक्सानी र मानसिक तनाव झेलिरहनु भएका बेचनले फैसलाप्रति सन्तोष व्यक्त गर्नुभयो र इन्सेकलाई धन्यवाद ज्ञापन गर्नुभयो । विशेष परिस्थितिबाहेक एक पक्षले तीनपटक मात्र पेसी तारेख झार्न मिल्ने भएपनि अदालतको तथ्यांकअनुसार प्रतिवादी पक्षबाट २८ पटक र जिल्ला सरकारी वकिलको कार्यालयबाट १२ पटक पेसी स्थगित भएको थियो । जिल्ला अदालतमा २०७२ वैशाख १४ गते अभियोगपत्र दायर भएको थियो ।

अन्य आरोपितहरू शिवानन्दकी श्रीमती ४१ वर्षीया मञ्जुदेवी राय, विद्यानन्दकी श्रीमती ५० वर्षीया बिन्दुदेवी राय, उनीहरूका छोरा ३३ वर्षीय चन्दनकुमार राय, कान्छा देवर ४५ वर्षीय कामानन्द राय र उनकी श्रीमती ३५ वर्षीया रेणुदेवी रायले सफाई पाएका छन् ।

सर्वोच्च अदालतले दुई वर्ष नाघेका मुद्दालाई छुट्टै व्यवस्थापन गरी र ५ वर्ष नाघेका मुद्दालाई तीव्र रूपमा फस्र्यौट गर्न बारम्बार निर्देशन जारी गर्दै आएको छ । सप्तरी जिल्ला अदालतमा अझै ५ वर्ष नाघेका ८० र दुई वर्ष नाघेका नौ सय मुद्दा रहेका छन् ।

 

अन्य

भिडियो