१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा फरार रहेका राजविराज नगरपालिका–१३ का २५ वर्षीय रोशनकुमार यादव विरुद्धको उजुरी २०७९ माघ २३ गते मुल्तबीमा राख्ने फैसला भएको छ ।
जिल्ला न्यायाधीश श्यामबिहारी मौर्यको इजलाशले अभियोग पत्र दायर भएको दुई वर्षपछि मुद्दाको अन्तिम आदेश गर्दै मुल्तबीमा राख्ने फैसला गरेको सप्तरी जिल्ला अदालतले जनाएको छ । सप्तरी जिल्ला अदालतमा घटनाको १ वर्ष पछि २०७७ माघ १३ गते अभियोग पत्र दायर भएको थियो ।
आरोपितले ०७६ माघ १५ गते सिन्दुर हालेर बलात्कार गरी फरार भएको भन्दै पीडितका काकाले ०७६ माघ २० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको थियो । दिशापिसाव गर्न माघ १८ गते राति बाँसघारी गएको बेला सुनसान ठाउँको मौका उठाई ज्यान मार्ने धम्की दिई कोशी पश्चिमी नहरको दक्षिण रहेको राजविराज नगरपालिका–१३ स्थित महाबिर माध्यमिक बिद्यालय, विषहरिया लगेर जबरजस्ती सिन्दुर लगाई रातभरी विद्यालय कोठामा राखेर बलात्कार गरेको पीडितले बताउनु भयो ।
पीडितका अनुसार माघ १९ गते विहान आरोपित भारत विहारको जमुनानगर भागे । पीडितको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा ०७६ माघ २१ गते स्वास्थ्य परिक्षण भयो । प्रहरीले आरोपितविरुद्ध ०७६ माघ २७ गते बलात्कारको उजुरी दर्ता गर्यो ।