गल्छी गाउँपालिका-५ स्थित कालिका आधारभुत विद्यालयका ११ जना विद्यार्थीलाई काठमाडौँ लिकमार्ग निवासी कर्णबहादुर सिंह र उनका परिवारले न्यानो कपडा सहयोग उपलब्ध गराएका छन् ।
आमा नभएपछि पढ्नमा भन्दा नाना र खानाको चिन्ता शिर्षकमा इन्सेक अनलाइनमा माघ ४ गते समाचार प्रकाशन भएपछि सहयोग उपलब्ध गराइएको हो ।

आमा बुवा दुबैले छाडेका गल्छी गाउँपालिका-५ छहराकी ८ वर्षीया सुनिता रमतेल लगायतका बालबालिकाहरूले आमा नभएका कारण खान र लाउनको समस्या परेको समाचार प्रकाशन भएको थियो ।
समाचार प्रकाशनपछि काठमाडौँ कुलेश्वर लिकमार्ग निवासी कर्णबहादुर सिंह, पजुमा सिंह, कमलादेवी सिंह, छोरा कुशल सिंह, बिमलादेवी भडेल र कृपि सिंहले २८ हजार ५ सय बराबरको कपडा उपलब्ध गराएका थिए ।
थ्रिपवाला ट्रयाक सेट, स्वीटर, उलन टोपी, जुत्ता मोजा उपलब्ध गराइएको विद्यालयका प्रधानाध्यापक बैकुण्ठ अधिकारीले बताउनुभयो ।
गल्छी गाउँपालिका अध्यक्ष केदारनाथ खतिवडा र वडा नम्बर ५ का सदस्य रामप्रसाद अधिकारीले अति समस्यामा परेकालाई गरिएको सहयोगको लागि सिंह परिवारलाई धन्यवाद दिनुभयो ।
