सवारी चालकसँग भएको विवादपछि गिरफ्तार गरिएका पाँच जनालाई प्रहरीले जेठ १८ गते हिरासतमै कुटपिट गरी यातना दिएर घाइते बनाएको छ ।

बेनिघाट रोराङ-७ का २३ वर्षीय निर्मल नेपाल, ३३ वर्षीय सूर्य चेपाङ, ४५ वर्षीय कृष्ण गुरुङ, १७ वर्षीय सन्तोष यादव, १७ वर्षीय अङ्कित तामाङलाई जोगिमारा स्थित प्रहरी चौकीमा कुटपिट गरी घाइते भएको पीडितहरूले जिल्ला प्रशासन कार्यालयमा जेठ १८ गते उजुरीसमेत दिएका छन् ।
सोही स्थानको गुडलक होटलमा खाजा खाएको २ हजार ४ सय रुपियाँ नतिरी हिँड्न खोजेको आरोपमा सवारी चालकलाई कुटपिट गरेपटि घटनास्थल पुगेको प्रहरीले पाँच जनालाई जेठ १७ गते राति गिरफ्तार गरेको थियो ।
प्रहरीले गिरफ्तार गरेपछि जोगिमारा प्रहरी चौकीमा लगेर बाँसको भाटाले कुटेको पीडितहरूको आरोप छ । जोगिमारा प्रहरी चौकीका असई राजु पौडेलको नेतृत्वमा रहेको प्रहरीले कुटपिट गरी घाइते पारेकोले प्रहरीलाई कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएको पीडित पक्षको भनाइ छ ।
सवारी चालकलाई कुटपिट गरेको उजुरी प्रहरीमा आएपछि प्रहरीले घटनास्थल पुग्दा उनीहरूलाई गिरफ्तार गरिएको र प्रहरीसँग समेत झगडा गरेपछि सामान्य लाठी चार्ज गर्नु परेको प्रहरीको भनाइ छ ।
घटनापछि असइ पौडेललाई जिल्ला प्रहरी कार्यालयलमा झिकाइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दीपेन्द्र पँजीयारले बताए ।