INSEC Online

📅 २०८३ जेष्ठ २१

अस्पतालमा उपचार सेवा शुल्क घटाउन नागरिक समाजको आग्रह

चरिकोटस्थित पशुपति चौलागाई स्मृति अस्पतालले सेवाग्राहीलाई शुल्क बढाएर उपचार सेवा दिने निर्णय गरेपछि नागरिक समाजका अगुवाहरूले विरोध जनाएका छन् ।

प्रदेश सरकार मातहत सञ्चालनमा रहेको यो अस्पतालले विगतदेखि निशुल्क स्वास्थ्य उपचार सेवा दिँदै आएकोमा अहिले अस्पताल सञ्चालनका लागि स्रोत अभाव हुँदै गएको र व्यवस्थापनमा संकट चुलिँदै गएको कारण देखाउँदै शुल्क निर्धारण गरेको छ ।

नागरिक समाजका अगुवा, उद्यमी व्यवसायी तथा सञ्चारकर्मीले एक अपिल जारी गर्दै निजी अस्पतालले भन्दा पशुपति चौलागाई स्मृति अस्पतालले महँगो शुल्क लिएर उपचार सेवा दिने निर्णय गरेको भन्दै त्यसको विरोध जनाएका हुन् ।

यस अघि प्राथामिक स्वास्थ्य केन्द्र रहेको अस्पताललाई तत्कालीन सरकारले न्याय हेल्थ नेपाल नामक गैरसकारी संस्थालाई निशुल्क उपचार सहितको विशेषज्ञ सेवा दिने गरी २०७२ सालमा १० वर्षका लागि व्यवस्थापनको जिम्मा दिएको थियो ।

तर आफ्नोे संस्थामा विदेशी अनुदान रोकिएको भन्दै गत वर्षको कात्तिकमा न्याय हेल्थ नेपाल फिर्ता भएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चरिकोट सहित पाँच ओटा अस्पताललाई प्रदेश मातहत राख्ने निर्णय गरेको थियो ।

त्यसपछि पनि निशुल्क सेवा दिँदै आएको अस्पतालले अहिले सेवा शुल्क निर्धारण गरेको छ ।

हालै मात्रै अस्पताल व्यवस्थापन तथा सञ्चालक समितिको बैठकले निर्धारण गरी सार्वजनिक गरेको दररेट सदरमुकाम चरिकोटकै निजी अस्पतालको भन्दा चर्को रहेको नागरिक समाज, उद्यमी व्यवसायी तथा सञ्चारकर्मीहरूको ठहर छ ।

प्रेस काउन्सिल नेपालका सदस्य चिरञ्जिवी मास्के, प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष लक्ष्मण खड्का, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य रमेश खतिवडा, नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य रामेश्वर मानन्धर, नेपाल पत्रकार महासंघ दोलखा शाखाका अध्यक्ष दीपशंकर चौलागाई, नेपाल बार एसोसियसन दोलखाका अध्यक्ष कृष्ण बहादुर बस्नेत, दोलखा उद्योग वाणिज्य सङ्घका अध्यक्ष इन्द्रबहादुर श्रेष्ठ र दोलखा चेम्बर अफ कमर्शका अध्यक्ष विष्णु श्रेष्ठ लगायत १८ जनाद्वारा हस्ताक्षरित अपिल मार्फत अस्पतालको सो निर्णय तत्काल फिर्ता लिई जनतालाई सर्वसुलभ ढङ्गले स्वास्थ्य सेवा दिन आग्रह गरिएको छ ।

अन्य

भिडियो