विद्यालय प्रवेश गर्ने बाटो बन्द भएपछि डाक्नेश्वरी नपा–६ स्थित जनता माध्यमिक बिद्यालय कटैया फत्तेपुरको पठनपाठन पुस १८ गतेदेखि पूर्णतया ठप्प भएको छ ।
स्थानीय देवनारायण यादवले घेरबेर गरी बाटो नै बन्द गरेकाले बिद्यालयले पुस १८ गतेदेखि अनिश्चितकालका लागि विद्यालय बन्दको सूचना जारी गरेर पठनपाठन बन्द गर्नुपरेको जनाएको छ ।
२०५३ सालदेखि सुचारु रहेको बाटो नम्बरी भन्दै यादवले घेरबेर गरेर बन्द गरेपछि बिद्यालयमा अध्ययनरत साढे पाँच सय विद्यार्थी पढ्न पाउने मौलिक हकबाट बञ्चित भएको र भविष्य अन्यौल भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओमप्रकाश यादवले चिन्ता व्यक्त गर्नुभयो ।
विद्यालय प्रशासनले अबरुद्ध बाटो सञ्चालनको माग गर्दै नगरपालिका, जिल्ला प्रशासन कार्यालय, प्रहरी कार्यालयमा निवेदन दिएपनि आवश्यक पहल नभएको गुनासो गरेको छ । विद्यालयमा ९० प्रतिशत दलित विद्यार्थी रहेको जानकारी दिनुहुँदै ३ जना विद्यार्थीका अभिभावक रामबृक्ष मण्डलले विपन्नताले बाहिर पढाउन सक्ने क्षमता नभएकोले विद्यालय खुल्ने आशा गर्नु बाहेक विकल्प नभएको लाचारी सुनाउनु भयो ।
चार दशकदेखि काठमाडौं मनपा–३१ मा परिवासहित बस्दै आउनु भएका देवनारायण यादवको निर्देशनमा उनका भतिजा कमलेश यादवले पुस १४ गते आवतजावतको मुख्य बाटो घेरेर नरिवलको रुख रोपेका छन् । त्यसपछि यादवकै आँपको बगैचा हुँदै शिक्षक, विद्यार्थी आउने जाने गरेकोमा पुस १४ गते उनले सो बगैचा पनि घेरबेर गरेको रामनारायण पासवानले बताउनु भयो । त्यसपछि वाध्य भई विद्यालयले पठनपाठन बन्द गर्नुपरेको विद्यालयको जग्गा दाता परिवारका सदस्य एवम् शिक्षक मोहनप्रसाद साहले बताउनु भयो । बाटो बन्द भएकाले विद्यालयभित्र निर्माण भइरहेको चारकोठे भवन निर्माण कार्य समेत स्थगित भएको छ ।
विद्यालयलाई २०५३ सालमा माध्यमिक तहको बनाउने बेलामा देवनारायणसहित ११ जनाले सहमतिमा विद्यालयका लागि बाटो दिएदेखि सो बाटो सुचारु रहेको जग्गादाता शिक्षक साहले बताउनु भयो । सार्वजनिक बाटोको रुपमा प्रचलनमा रहेको जग्गा अवरोध गर्न नमिल्ने जनाउँदै नगर प्रमुख रामलखन मलाहाले सामाजिक स्तरमा विवाद नसुल्झिए कानुनी रुपमा आवागमन सुचारु गरिने बताउनु भयो । कक्षा १२ सम्म पढाई हुने उक्त विद्यालय वि.स. २०२२ सालमा स्थापना भएको हो ।