जिल्लास्थित बाल सुधार गृहको व्यवस्थापनमा सरकारले चासो नदेखाएपछि आफूहरुले सास्ती खेप्नु परेको डोटी जिल्ला बालसुधार गृहमा राखिएका बालबालिकाहरुले गुनासो गरेका छन् ।
२५ जना क्षमता रहेको बाल सुधार गृहमा ३७ जनालाई राखिएको र खाना, बस्न, शौचालय प्रयोग गर्न, लुगा धुन, नुहाउन समेत पानीको समस्या झेल्नु परेको बाल सुधार गृहमा कैद भुक्तान गरिरहनु भएका शिखर नगरपालिकाका १४ वर्षीय बालकले गुनासो गर्नु भयो ।
उहाँले क्षमता भन्दा बढी आश्रीत बालकहरु राख्दा चिसोको समयमा ओडने, ओछ्याउने लुगाको समेत अभाब हुने गरेको दुखेसो पोख्नु भयो ।
बाल न्याय सम्पादन (कार्यबिधि) नियमावली २०७६ परिच्छेद–२ को ६ मा बाल सुधार गृहमा स्वच्छ पिउने पानी, पोषण युक्त खानेकुरा लगायतका न्यूनतम सुबिधाको व्यवस्था हुनु पर्ने उल्लेख छ ।
क्षमता भन्दा बढी बालकहरु राखेका कारण शौचालय जान समेत लाइन लाग्नु पर्ने बाध्यता रहेको केआइ सिंह गाउँपालिकाका १३ वर्षीय बालकले गुनासो गर्नु भयो ।
उहाँले चार ओटा कोठा मात्रै रहेको बाल सुधार गृह, डोटीमा एउटै कोठामा ११ जना बस्नु पर्ने बाध्यता रहेको र खेलकुद, पुस्तकालय, खानेपानीको ब्यबस्थापनका लागि पटकपटक आग्रह गरिएको भए पनि सुनुवाइ नभएको दुखेसो पोख्नु भयो ।
बाल सुधार गृह, डोटीका प्रमुख सानुमाया लिम्बु गुरुङले क्षमता भन्दा बढी बालक आश्रीत रहेका कारण व्यवस्थापनमा समस्या हुँदै आएको बताउनु भयो ।
दुई ओटा कार्यालय सहयोगी रहेको बाल सुधार गृह, डोटीमा कर्मचारी अभाबका कारण पनी व्यवस्थापनमा समस्या हुने गरेको गृहका प्रमुख लिम्बु गुरुङले बताउनु भयो । पिउने पानी, खेल मैदानलगायतका समस्या समाधानका लागि दिपायल सिलगढी नगरपालिकासँग आग्रह गरेको र बाल सुधार गृह भवन निर्माणका लागि जग्गा खरिद प्रक्रिया सम्पन्न भएकोले व्यवस्थापनमा केही सुधार हुने समेत उहाँले बताउनु भयो ।