१७ वर्षीय बालिकालाई यौन दुर्व्यवहार गरेका आरोपित १७ वर्षीय बालक एक वर्षपछि ०७९ पुस २४ गते सप्तरी जिल्ला अदालतमा हाजिर भएका छन् ।
एक वर्षसम्म गाउँघरमै रहे पनि प्रहरीको फरार सूचीमा रहेका आरोपित स्वयम् अदालतमा उपस्थित भएको जिल्ला अदालतले जनाएको छ । आरोपितले ०७८ माघ १७ गते राति यौन दुर्व्यवहार गरेको भन्दै पीडितका बाबुले इलाका प्रहरी कार्यालय कडरबोनामा फागुन ८ गते उजुरी दिनु भएको थियो । पीडित सुतिरहेको कोठाको खुला झ्यालबाट भित्र पसेका आरोपितले पीडितको कपडा खोली मुखमा कपडाको बुझो लगाई बोल्न कराउन नदिई यौन दुर्व्यवहार गरेको पीडितले बताउनु भएको छ ।
आरोपितको नियन्त्रणबाट उम्की भागी कराए पछि आरोपित झ्यालबाट भागेको पीडितले बताउनु भएको छ । इलाका प्रहरी कार्यालय कडरबोनाले ०७८ फागुन ८ गते उजुरी दर्ता गरेको थियो । फरार आरोपितविरुद्ध जिल्ला अदालतबाट फागुन १५ गते पक्राउ पुर्जी जारी भएको थियो । जिल्ला अदालतमा पुस २० गते अभियोगपत्र दायर भएकोमा जिल्ला न्यायाधीश हेमन्त रावलको इजलाशले आरोपितलाई पुस २४ गते संरक्षकको जिम्मा लगाएको छ ।