INSEC Online

📅 २०८३ जेष्ठ २२

जागिरको लोभ देखाई बलात्कार र लुटपाट गर्नेलाई कैद र जरिवाना

जागिर लगाई दिने प्रलोभन दिई महिलाहरुको बलात्कार गरेको र गरगहना चोरी गरेको आरोपमा अग्नीसाईर कृष्णसरवण गापा–२ सितापुरका ३० वर्षीय सन्तोषकुमार यादवलाई पुस १९ गते कैद र जरिवाना भएको छ ।

जिल्ला न्यायधीश लालकाजी श्रेष्ठको इजलाशले आरोपितविरुद्ध परेको फरक–फरक मुद्दामा फरक–फरक कैद र जरिवानाको सजाय गरेको अदालतका सूचना अधिकारी भरतमणि पोखरेलले बताउनु भयो ।

१९ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा यादवलाई साढे १ वर्ष कैद र २५ हजार रुपियाँ जरिवाना भएको छ । आरोपितले ०७६ भदौ ११ गते गाउँमा ल्याई बलात्कार प्रयास गरेको भन्दै पीडितले इलाका प्रहरी कार्यालय कञ्चनरुपमा ०७६ भदौ १६ गते उजुरी दिनु भएको थियो ।

ईमोमार्फत पीडितको फोन नम्बर पत्ता लगाई उक्त नम्बरमा फोन गरी ‘रोजगारी जब लिंक नेपाल’ को प्रबन्धक हुँ, एनआइसी बैंकमा जागिर खाने अवसर खुल्ला छ भनी प्रलोभन देखाई मोरङ्गको उपमहानगरपालिका बिराटनगर कञ्चनबारी बोलाएका आरोपितले सप्तरीको अग्नीसाइर कृष्णसवरण गापा–२ चाँदनी चोक ल्याई बलात्कार प्रयास गरी उनको साथमा रहेको मोवाईल, सुन चाँदीका गरगहना र नगद गरी दुई लाख बराबरको धनमाल लुटपाट गरेको पीडितले बताउनु भयो । पीडितको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भदौ १६ गते स्वास्थ्य परिक्षण भएको थियो ।

बझाङ्गको सहिपाल घर भई कञ्चनपुर जिल्लाको पुर्नवास नपा–१ बस्ने १९ वर्षीया महिलालाई अभद्र व्यवार गर्दै लुटपिट गरेको आरोपमा ३ वर्ष कैद र ३० हजार रुपियाँ जरिवाना भएको छ । आरोपितबाट ०७६ असार २६ गते राति मोवाईल र सुनका गरगहनासहित १ लाख ५६ हजार रुपियाँ बराबरको धनमाल लुटपाट भएको भन्दै पीडितले इलाका प्रहरी कार्यालय कञ्चनरुपमा असार २७ गते उजुरी दिनु भएको थियो । प्रहरीले असार २७ गते आरोपितको घरमा छापा मारी लुटिएको समान बरामद गरेको थियो ।

सिन्धुपाल्चोकको लिसंखु पाखर नपा–१ की ३३ वर्षीया महिलासँग अभद्र व्यवहार गरी धानमाल लुटपिट गरेको आरोपमा अदालतले आरोपितलाई पटके कायम गरी नगद र समान उजुरी गर्ने पीडितलाई भराई दिने फैसला गरेको छ । जागिरको प्रलोभन देखाई पीडितलाई ०७६ बैशाख ९ गते अभद्र व्यवहार गरी साथमा रहेको मोवाईल र सुनका गरगहना सहित २ लाख १४ हजार रुपियाँको धनमाल लुटपाट गरेको भन्दै पीडितले इलाका प्रहरी कार्यालय कञ्चनरुपमा ०७६ साउन १७ गते उजुरी दिनु भएको थियो । अग्नीसाइर कृष्णसवरण गापा–२ स्थित आरोपितको घरमा प्रहरीले साउन १७ गते छापा मारी लेडिज पर्स, मोबाइल, गरहगहना फेला पारेको थियो । इलाका प्रहरी कार्यालयले साउन २२ गते सो उजुरी दर्ता गरेको थियो ।

यस्तै ताप्लेजुङ मैवाखोला गापा–१ की महिलालाई अभद्र व्यवहार गरी गरगहना लुटपाट गरेको आरोपमा आरोपितलाई १ वर्ष ३ महिना कैद र २० हजार रुपियाँ जरिवानाको फैसला भएको छ । २५ वर्षीया महिलालाई ०७६ साउन ८ गते बलात्कार गरेको भन्दै पीडितले इलाका प्रहरी कार्यालय कञ्चनरुपमा साउन ९ गते उजुरी दिनु भएको र अदालतमा ०७६ असोज ८ गते आरोपितविरुद्ध दायर भएको बलात्कार र चोरीको मुद्दा अझै फैसला हुन बाँकी नै रहेको छ ।

‘रोजगारी जब लिंक नेपाल’ नामको नक्कली संस्था श्रृजना गरी सोही माध्यमबाट एनआईसी बैंकमा जागिर लगाई दिने प्रलोभन देखाई आरोपितले बिराटनगर बोलाउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार पत्र तयार गरेर देखाउने तर नदिने आरोपित बिराटनगरबाट ढिला गरी सँगै हिड्ने र बाटोमा रात परेपछि बास बस्न बाध्य पारी बलात्कार गर्ने गर्दथे । बलात्कार प्रयास असफल हुँदा महिलासँग भएको गरगहना, मोबाइल, नगद लुटपाट गर्ने गर्थे ।

आफ्नो नाम सञ्जिब खडका राखेका यादव मोरङ्गको बुढीगंगा नगरपालिका–३ स्थित डेराबाट ०७६ भदौ १४ गते गिरफ्तार भएका थिए । जिल्ला अदालतमा ०७६ असोज ८ गते उजुरी दायर भएकोमा असोज ९ गतेदेखि आरोपित पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् ।

अन्य

भिडियो