INSEC Online

📅 २०८३ जेष्ठ २१

बालिका बेचबिखन आरोपितलाई कैद सजाय

१५ वर्षीया बालिकालाई बेचबिखन तथा ओसारपसार गरेको आरोपमा डाक्नेश्वरी नपा–३ का ४२ वर्षीया भदियादेबी मलाहलाई ०७९ पुस १९ गते २ वर्ष ३ महिना कैद सजायको फैसला भएको छ ।
जिल्ला न्यायाधीश हरिश्चन्द्र इङ्गनामको इजलाशले आरोपितलाई कैद सजाय गर्नुका साथै ३० हजार रुपियाँ पीडितसमक्ष क्षतिपूर्ति भराउन समेत फैसला गरेको अदालतका सूचना अधिकारी भरतमणि पोखरेलले बताउनु भयो ।

आरोपितका पति ४५ वर्षीय उतिमलाल मलाह र छोरा १९ वर्षीय सन्तोष मुखियाले ०७६ भदौ १ गते बालिकालाई अपहरण गरी बेचबिखन गर्न भारत पुर्‍याएको भन्दै पीडितकी आमाले जिल्ला प्रहरी कार्यालय सप्तरीमा असोज २४ गते उजुरी दिनु भएको थियो ।

भारत बिहारको मधुबनी जिल्ला प्रखण्ड लौकहीको झौरही चोकमा राखी दरभंगा हुँदै ०७६ भदौ ४ गते दिल्लीको रेलवे स्टेशन पुर्‍याएको  पीडितले बताउनु भयो । त्यहाँबाट सन्तोष र सन्तोषको मौसीको(सानी आमा) छोरासँगै बसमा चढी थाहा नभएको ठाउँमा पुगेपछि उनीहरूले नचिनेका २ जनासँग रकम लेनदेन गरेको देखेको पीडितले बताउनु भयो ।

उनीहरूले छाडेर गएपछि अपरिचित व्यक्ति मध्ये एक जनाले भदौ ७ गतेसम्म यौन शोषण गरी दिल्लीबाट रेल चढाई बिहारको वेगुसरायको लखनपट्टी गाउँमा राखेको अवस्थामा एक हप्ता पछि झ्याल खुल्ला देखी मौका छोपी भागेको बालिकाले बताउनु भयो । स्थानीय व्यक्तिको सहयोगमा बालिकाले बाल संरक्षण इकाई समस्तीपुरमा एक बर्षसम्म आश्रय लिनुभयो । बाल संरक्षण इकाइले जिएनएफ संस्थासँग सम्पर्क गरी ०७७ भदौ ३० गते नेपाल ल्याएर बालिकालाई इन्सेक सप्तरी प्रतिनिधिको उपस्थितीमा अभिभावकको जिम्मा लगाएको थियो ।

जिल्ला प्रहरी कार्यालयले ०७७ असोज २५ गते मानव बेचबिखन तथा ओसारपसार र जबरजस्ती करणीको उजुरी दर्ता गर्‍यो । आरोपितहरू मध्ये भदियादेबी मलाह असोज २३ गते गिरफ्तार हुनु भयो । जिल्ला अदालतमा ०७७ कात्तिक १८ गते उजुरी दायर भएकोमा अदालतको आदेशमा आरोेपित कात्तिक २० गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् ।

जिल्ला अदालतले ०७७ असोज २८ गते नै अन्य आरोपितहरूलाई पक्राउ पुर्जी जारी गरे पनि गिरफ्तार भएनन् । आरोपितहरूले मिलेर पीडितलाई ललाइफकाई करकापमा पारी भारत लगेर बेचबिखन गरेको भन्दै पीडितकी आमाले उजुरी दिनु भएको थियो । अदालतमा होस्टाइल हुने गरी झुठा बकपत्र गरेको कसुरमा जाहेरवालीलाई समेत १ महिना कैद सजायको फैसला भएको छ ।

अन्य

भिडियो