INSEC Online

📅 २०८३ जेष्ठ २२

जिल्ला अदालतद्वारा सुस्मिता हत्या घटनामा पाँच जनालाई कसुरदार ठहर

हेटौँडा उपमहानगरपालिका-४ की २४ वर्षीया सुस्मिता थापा केसीको हत्या भएको करिब साँढे २ वर्षपछि जिल्ला अदालत मकवानपुरले ०७९ पुस २१ पाँच जनालाई कसुरदारठहर गरेको छ ।मकवानपुर जिल्ला अदालतका न्यायाधीश श्रीप्रसाद सञ्जेलको ईजालसले मृतक सुस्मिताका ससुरा प्रकाश थापा, सासु तुलसा थापा, कान्छी नन्द सीता थापा, जेठी नन्द दुर्गा थापा, उनका पति अरुण कार्कीलाई हत्याको कसुरदार ठहर गरेको हो ।

यही पुस १८ गतेदेखिको निरन्तरको बहसपछि पुस २१ गते हत्याका आरोपित पाँचै जना अभियुक्तलाई दोषी ठहर गरेको अदालतका श्रेस्तेदार तीर्थ प्रसाद भट्टराईले जानकारी दिनुभयो ।

यद्यपि मुद्दाको सजाय निर्धारण हुन भने बाँकी रहेको श्रेस्तेदार भट्टराईले बताउनुभयो ।

जाहेरवालाको तर्फबाट जिल्ला सरकारी वकिलको कार्यालय मकवानपुरका जिल्ला न्यायधिवक्ता मुकुन्दहरी पौडेल, जिल्ला सहायक न्यायधिवक्ता राजेन्द्रमणि पौडेल, अधिवक्ता राजेन्द्र शर्मा, मदनकुमार दाहाल, मनप्रसाद भट्टराई, अप्सरा बस्नेत, बालकृष्ण अधिकारीले बहस गर्नुभएको थियो भने प्रतिवादीतर्फका ६ जना भन्दाबढी अधिवक्ताले बहस गरेका थिए ।

मुख्य अभियुक्तको रूपमा ससुरा र कान्छी नन्द सीता थापालाई जन्मकैद सजायको माग गरिएको छ । साथै दुर्गा र अरुण कार्कीलाई आपराधिक षडयन्त्र गरेको अभियोगमा जन्मकैदको माग गरिएको छ भने मृतक सुस्मिताको सासु तुलसाकुमारी थापालाई मतियारको भूमिका निर्वाह गरेकाले मुख्य अभियुक्तको पाउने सजायको आधा सजाय माग दाबी गरिएको मकवानपुर जिल्ला बार एसोसिएसनकी अध्यक्ष अधिवक्ता अप्सरा बस्नेतले बताउनुभयो ।

मृतक सुस्मिताको बुवा कृष्णबहादुर केसीले ०७७ असार २९ गते पाँचै जना विरुद्ध मुद्दा दर्ता गराउनु भएको थियो । सुस्मिताको ०७७ असार १ गते राती हेटौँडा उपमहानगरपालिका-४ कर्रा स्थित घरमा विभत्स ढङ्गले हत्या गरिएको थियो । भान्सा कोठामा नन्द सीतासँगै खाना खाइरहेकी सुस्मिताको टाउको ससुराले पछाडिबाट लौरो जस्तो काठले हिर्काएका थिए ।

सुस्मिताले ज्यान बचाउन गुहार मागेपछि कान्छी नन्द सीताले मसला पिध्ने लोहोरोले टाउकोमा निरन्तर प्रहार गरेको प्रहरी समक्ष स्वीकार गरेकी थिईन् । असार २ गते घरको भान्सामा विभत्स ढङ्गले हत्या गरिएको अवस्थामा सुस्मिताको शव फेला परेको थियो । तर ससुराले सुस्मिताको हत्यालाई आत्महत्या देखाउने प्रयास गरेका थिए ।

अन्य

भिडियो