चौतारा कारागारमा ०७९ पुस १७ गते साँझ कैदीबन्दी बीच झडप भएको छ । झडपमा दुई जना कैदीबन्दी घाइते भएका छन् ।
कारगार भित्रको आन्तरिक प्रशासनको विषयमा विवाद हुँदा कारागारका नाइके र चौकीदारबीच विवाद भएको जिल्ला कारागार शाखाका कर्मचारी गौरव श्रेष्ठले बताउनुभयो ।
कारागार भित्र रहेका कैदीबन्दी बीच झडपमा घाइते हुनेमा सुनकोशी गाउँपालिका घरभई ज्यान मुद्दामा थुनामा रहेका रमेश लामा र बाह्रविसे नगरपालिका घर भएका ज्यान मुद्दामै थुनामा रहेका दावा लामा भएको कारागार सुरक्षा इन्चार्ज मनोज कार्कीले बताउनु भयो ।
घाइते दुवै जनाको उपचार पुस १७ गते नै चौतारा अस्पतालमा गरिको छ । घाइते रमेश लामाको टाउकोमा सात टाका लगाएको र दावा लामा सामान्य घाइते भएको कारागार शाखाका गौरव श्रेष्ठले बताउनु भयो ।
झडपमा कैदीबन्दीले जेलभित्रको भित्रि ढोका बन्द गरी पर्दा समेत लगाएर ढक प्रयोग गरी एक अर्कामा आक्रमण गरेका थिए ।
ढोका बाहिर रहेको सुरक्षाकर्मी ढोका खोलेर भित्र पुग्दा स्थिति तनाव रहेको सुरक्षा इन्चार्ज कार्कीले बताउनुभयो ।
कार्कीको भनाइ अनुसार विवादमा संलग्न सात जना कैदीबन्दीलाई हाल जिल्ला प्रहरी कार्यालयमा राखिएको छ भने उनिहरूलाई काठमाडौँ चलान गर्ने तयारी भएको छ ।
चौतारा कारागारमा एक महिना अघि मात्र नाइके र चौकीदारहरू परिवर्तन गरिएको थियो ।