सिमकोट गाउँपालिका–७ का वडाध्यक्ष बालविर शाहीले कुनै वडा सदस्यहरूलाई कारोवारो नछोडेरै जिल्ला बाहिर गएपछि सेवाग्राही मर्कामा परेका छन् । अध्यक्ष गत मङ्सिर २८ गतेबाट आफ्नो व्यक्तिगत कामका लागि जिल्ला बाहिर बाजुरा जिल्ला हुँदै नेपालगञ्ज गएपछि सिमकोट गाउँपालिका–७ डाँडाफयाका स्थानीय नागरिकका कामकाजमा बाधा पुगेको स्थानीय सेवाग्राही कालिबहादुर सुनारले गुनासो गर्नुृ भएको छ ।
स्थानीय सुनारका अनुसार आफु पुस ६ गते दिउसो वडा कार्यालयमा कृषिफर्म दार्ताका लागि सिफारीस माग्न जाँदा वडा कार्यालयमा वडाध्यक्ष नभेटिएपछि रित्तै फर्कनु परेको गुनासो छ । “उहाँले भन्नु भयो” वडाध्यक्ष जिल्ला बाहिर रहेको र कार्यबाहक अध्यक्षको जिम्मा कसैलाई नछोडेपछि दैनिक दिन दश जना भन्दा बढि सेवाग्राही रित्तो हातमा फर्कनु परेको हो ।
करीव ११ दिनदेखि बन्द भएको वडा कार्यालयमा नागरिकताको सिफारिस लिन जाँदा वडा कार्यालय बन्द रहेको देखेपछि रित्तो हातमा घर फर्कनु परेको स्थानीय प्रदिप शाहीले गुनासो गर्नु भएको छ । स्थानीय शाहीकाअनुसार नागरिकता बनाएर जिल्ला बाहिर अध्ययनका लागि जानु पर्ने थियो । तर पनि वडा कार्यालयमा एक जना कर्मचारी समेत नभेटिएपछि रित्तै फर्कनु बाहेक अन्य विकल्प नरहेको गुनासो गर्नु भएको हो ।
त्यस्तै सोही ठाउँका अर्का स्थानीय बाँचु शाहीका अनुसार आफ्नो बच्चाको जन्म दर्ताको सिफारिस लिनका लागि वडा कार्यालयमा गए पनि वडाध्यक्ष नभएपछि फिर्ता हुनु परेको गुनासो गर्नु भएको छ ।
वडा कार्यालयबाट उपलव्ध हुने जन्म, मृत्यु, विवाह दर्ता, विभिन्न कृषि फर्म, बसाइसराईको सिफारीस र जग्गाधनी तिरो, खाद्यान्नको कुपन लगायतका सेवा प्रभावित भएको छ । वडाध्यक्ष निजि कामका लागि जिल्ला बाहिर गएपछि ७ नम्वर वडाका सम्पुर्ण स्थानीय सेवाग्राहीले सास्ती खेप्नु परेको हो ।
दुई चार दिन भन्दै जिल्ला बाहिर गएका वडाध्यक्ष शाही दुई हप्ता वित्न लाग्दा समेत जिल्लामा नफर्किएपछि त्यहाँका स्थानीय नागरिकको दैनिक सेवा प्रभावित भएका छन् ।
सोही विषयमा अडाध्यक्षलाई बुझ्दा आफुलाई हतार भएका कारण कुनै पनि वडासदस्यलाई कार्यबाहकको जिम्मा दिन नसकिएको स्वीकार गर्नु भएको छ । आफुले वडा कार्यालयको केही लेटरप्याडमा हस्ताक्षर गरि छोडेको बताए पनि अन्य विभिन्न कामकाजमा समस्या भएको छ ।
सिंहदरवारको अधिकार गाउँगाउँमा आएको भनिएता पनि वडाको जिम्मेवारी भएका जनप्रतिनिधिले आफ्नै मताहातका सदस्यहरूलाई विश्वास नगरि एकलौटी रुपले वडा सञ्चालन गरिनुलाई लोकतन्त्रको अनुभूति नपाएको स्थानीय सरज कुमार शाहीले गुनासो गर्नु भएको हो ।
दैनिक दिन वडा कार्यालय बन्द हुने गरेपछि ७ नम्वर वडाका स्थानीय वडा सदस्य अंगबहादुर शाहीलाई घेरा हाल्ने गरेका छन् । तर सदस्य शाहीले भने आफुलाई जिम्मा नभएको र वडा कार्यालय समेत बन्द भएकाले यो विषयमा घोर आपत्ति जनाउनु भएको छ ।