गोदावरी नगरपालिका–२ अत्तरीयास्थित घोडाघोडी सुनचाँदी पसलका सञ्चालक ३१ वर्षीय विकास सुनार पुस ३ गते अज्ञात पक्षद्वारा चलाइएको गोली लागेर घाइते हुनु भएको छ ।
पुस ३ गते सुख्डबाट अत्तरीया फार्कीने क्रममा अत्तरीयाको पूर्व रोडमा रहेको सशस्त्र प्रहरी कार्यालय नजिकै नम्बर नखुलेको सेतो अपाचे मोटरसाइकलमा आएका दुई जनाले सुनारमाथि गोली प्रहार गरी फरार रहेका थिए ।
दायाँ पाखुरामा गोली लागेर घाइते भएका सुनारको धनगढीस्थित मायामेट्रो अस्पतालमा उपचार भइरहेको छ ।
राजमार्गमा खुलेआम गोली प्रहार गरी फरार भएको हतियारधारीलाई घटना भएको तीन दिनसम्म पनि प्रहरीले गिरफ्तार गर्न नसक्दा व्यापारीहरु असुरक्षित भएको घाइते सुनारका बुवा लालबहादुर सुनारले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कका क्रममा गुनासो गर्नु भयो ।
व्यापारीहरुको सुरक्षाको प्रत्याभूति गरी व्यापारव्यावसाय गर्ने वातावरण बनाउन र घटनामा संलग्न पक्षलाई गिरफ्तार गरी कार्वाहीको माग राख्दै उद्योग बाणिज्य संघ सुदूरपश्चिम प्रदेश समितिले विज्ञप्ति जारी गरेको छ ।
घटनामा संलग्न पक्षहरुलाई गिरफ्तार गरी कार्वाही गर्न र व्यापारीहरुको सुरक्षाको प्रत्याभूति गर्न मागराख्दै सुनचाँदी व्यावसायी संघले पुस ५ गते अत्तरीया बजारमा प्रर्दशन गर्दै आएको र आफ्ना मागहरु पुरा नभएसम्म आन्दालन जारी रहने आन्दोलन संघर्ष समितिका संयोजक सन्तोष लामिछाने बताउनु भयो ।
पुस ५ गते राति धनगढी उपमहानगरपालिका–९ शिवरामनगर टोलका स्थानीय प्रजापति विष्टमाथि अज्ञात पक्षले गोली चालाएको थियो । अज्ञात पक्षले चालाएको गोली लागेर विष्ट घाइते हुनु भएको थियो ।
यसरी दैनिकजसो जिल्लाका विभिन्न स्थानमा अपराधिक घटनाहरुमा बृद्धि हुँदै गएको भएपनि घटनामा संलग्न पक्षहरु गिरफ्तार हुन नसक्नुले स्थानीयहरु असुरक्षित महसुस गरी त्रैसित बन्दै गाएका छन् ।
घटना लगत्तै प्रहरी परिचालन गरी घटनामा संलग्न पक्षको खोजी कार्य तिब्र पारिएको र घटनाको सुक्ष्म अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कैलालीका डिएसपी वेदप्रकाश जोशीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।