तिला गाउँपालिका – ८ पुरुगाउँस्थित देवी देउराली आधारभूत विद्यालयका प्रधानाध्यापक कल्से बस्नेतमाथि सोही वडाका जनप्रतिनिधि वडाध्यक्षले कुटपिट गरेको आरोप लगाएका छन् ।
पुस १ गते वडाध्यक्ष आँसे बस्नेतले प्रधानाध्यापकमाथि कुटपिट गरेका हुन् । विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चयनका लागि चुनाव गर्ने विषयमा स्कुल नजिक पुग्दै गर्दा वडाध्यक्ष आँसेसहित उनका दुई छोरा तिलक र सागर (सुरज) बस्नेतले आक्रमण गरेको प्रधानाध्यापक बस्नेतले बताउनु भयो ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष छान्नका लागि सातौं पटक बैठक बस्दापनि सहमति हुन सकेन,” प्रधानाध्यापक बस्नेतले भन्नु भयो, “उनीहरुले चुनाव गर्नैपर्छ भनेपछि चुनावको तयारी थियो । तर वडाध्यक्षले मदिरापान गरेर ममाथि हातपात गरे र उनका दुई छोरा अँझ बढी कुटपिट गरेका कारण घाइते भएपछि उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा भर्ना भएको छु ।”
दायाँ छाती, टाउको, चिउँडो, आँखा, नाक, कान र दाँतमा चोट लागेको पीडितले बताउनु भयो । प्रधानाध्यापक बस्नेतका अनुसार वडाध्यक्षको समुहले आफू स्थायी भएकोले नियमानुसार प्रअ भएकोमा उनीहरुले अस्थायी/करार शिक्षकलाई प्रअ बनाउन दबाब दिँदै आएका छन् । उनीहरुले गर्ने दादागिरीले आफूलाई गाउँमा बस्न सुरक्षा चुनौति भएको उहाँले दुखेसो गर्नु भयो ।
पीडितले अस्थायी/करार शिक्षकलाई प्रअ बनाउन निर्वाचन गर्ने वातावरण बनाएको आरोप लगाएका छन् भन्ने प्रश्नमा वडाध्यक्षले त्यस विषयमा केही बोल्न चाहानु भएन । विद्यालय व्यवस्थापन समितिको चुनावका लागि गाउँपालिका शिक्षा शाखाबाट खटिएका प्रतिनिधि दीपेन्द्रबहादुर हमालले प्रअ र वडाध्यक्षको झगडा सकिएपछि मात्र त्यहाँ पुगेकोले आफुलाई कुनै जानकारी नभएको बताउनु भयो ।
यद्यपि प्रअ अलिबढी घाइते भएर स्वास्थ्य विज्ञानमा उपचाररत अवस्थामा रहेको सुनिएको उहाँले जनाउनु भयो । विवादका कारण उक्त विद्यालयको चुनाव स्थगित भएको छ ।