INSEC Online

📅 २०८३ जेष्ठ २१

जातीय विभेद गरेको कसुरमा दुई महिना कैद सजाय

२६ वर्षीया महिलालाई जातीय विभेद गरेको कसुरमा जिल्ला अदालतले दमक नगरपालिका–५ का ५५ वर्षीय भीमलाल न्यौपानेलाई दुई महिना कैद र २० हजार जरिबानाको सजायको फैसला गरेको छ ।

न्यायाधीश डाक्टर रमेशप्रसाद रिजालकोको ०७९ मङ्सिर २६ गतेको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायसँगै पीडितले पाउने गरी कसुरदारबाट ५० हजार रुपियाँ क्षतिपूर्ति भराउन आदेश भएको अदालतका सूचना अधिकारी अर्जुनप्रसाद गुरागाँइले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

कसुरदार भीमलाल न्यौपानले २६ वर्षीया महिलालाई ०७९ जेठ २१ गते ज्योतिषी हेराउँदा बाहुनकी छोरी भएर कामी जस्तो सानो जातीसँग विवाह गरेको भनी जातीय विभेद गरेका थिए ।

जातीय विभेद गरेको आरोपमा पीडितले आरोपित भीमलाल न्यौपानेविरूद्ध ०७९ जेठ २३ गते इलाका प्रहरी कार्यालय दमकमा उजुरी दिएकी थिइन् ।

पीडित पक्षको उजुरीका आधारमा प्रहरीले आरोपितलाई सोही दिन घरबाट गिरफ्तार गरेको थियो ।

आरोपितविरूद्ध प्रहरीले जिल्ला अदालतमा जेठ ३१ गते जातीय भेदभाव तथा छुवाछुत कसुर शीर्षकमा मुद्दा दर्ता गरी कानूनी कारवाही अगाडि बढाएको थियो ।

जिल्ला अदालतका न्यायाधीश गिरीराज गौतमकोे असार १ गतेको आदेशमा आरोपित २० हजार धरौटी बुझाएर तारेखमा छुटेका थिए ।

अन्य

भिडियो