INSEC Online

📅 २०८३ जेष्ठ २१

पुनः मतदानका लागि सुरक्षा तयारी थालियो

जिल्ला निर्वाचन कार्यलयको निर्णय अनुसार मङ्सिर १५ गते पुनः मतदान हुने भएपछि १० ओट‌ै मतदान केन्द्रमा जिल्ला सुरक्षा समितिको तर्फबाट तयारी थालिएको छ ।

निर्वाचन आयोगको मङ्सिर ११ गतेको निर्णयले बैतेश्वर गाउँपालिका–२ को जनज्योति माध्यमिक विद्यालयका मतदान केन्द्र क र ख, वडा नम्बर ३ को कालीढुङ्गा माविका क, ख, ग मतदान केन्द्र, वडा नम्बर ६ को बैत्यश्वर माध्यमिक विद्यालय मतदान केन्द्र क, ख, ग तथा तामाकोशी गाउँपालिका वडा नम्बर- ३ हेल्थपोष्ट भवन जफे मतदान केन्द्रका क र ख गरी १० ‌ओटा मतदान केन्द्रमा ४ मङ्सिरमा भएको निर्वाचनलाई रद्द गरी पुनः मतदान गर्ने निर्णय गरी मङ्सिर १५ गते भित्र मतदान गर्न जिल्ला निर्वाचन कार्यलयलाई निर्देशन गरेको थियो ।

समितिको संयोजक, प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाले सुरक्षा व्यवस्था अत्यन्तै मजबुत बनाइएको बताउँदै निर्वाचन अघि, निर्वाचनको बेला र निर्वाचन सम्पन्न भएपछिको समयलाई विवाद र झडप रहीत बनाउने लक्ष्य अनुसारको तयारी भइरहेको बताउनु भयो ।

उहाँले मतदान केन्द्रमा आपराधिक र अवाञ्छित क्रियाकलाप दोहोरिन नदिन कुनै कसर बाँकी नराखिने सुनाउनु भयो ।

मतदान गर्न आएका सम्पूर्ण मतदाता, कर्मचारी, मतपत्र, मतपेटिकाको सुरक्षाका लागि सबै मतदान केन्द्रमा ६ सय भन्दा बढी सुरक्षाकर्मीको व्यवस्था गरिने उहाँले सुनाउनु भयो ।

एउटा मतदान केन्द्रमा ४० देखि ५० जना सम्म सुरक्षाकर्मी परिचालन हुने छन्, भने मोबाइल गस्ती, रिजर्भ टोली र स्ट्राकिङ फोर्स खटिने छन् ।

निर्वाचनमा बाधा अवरोध गर्ने तथा निर्वाचनलाई शान्तिपूर्ण हुन नदिने दलका प्रतिनिधि, उम्मेदवार, मतदान प्रतिनिधि वा त्यस्तो कार्य गर्ने जुनसुकै व्यक्तिलाई तत्काल पक्राउ गरी निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ बमोजिम कारबाही गरिने प्रमुख जिल्ला अधिकारी खतिवडाले बताउनु भयो ।

मङ्सिर १५ गते पुनः मतदान हुन लागेको मतदान केन्द्रमा मङ्सिर ४ गतेको पहिलो निर्वाचनमा सत्ता गठबन्धन समर्थकले बुथ कब्जा गरेको भन्दै नेकपा एमालेका प्रतिनिधिसभाका सदस्यका उम्मेदवार बालकृष्ण शिवाकोटीले निर्वाचन आयोगमा पुनः मतदानको माग गर्दै उजुरी दिनु भएको थियो ।

उहाँको उजुरीको छानविनपछि निर्वाचन आयोगले मतदान रद्द गरी पुनः निर्वाचन गर्ने निर्णय गरेको हो । सो निर्णय प्रति गठबन्धन दलले असन्तुष्टि जनाएको भए पनि अहिले भने निर्वाचनको तयारी थालेको छ ।

यता पुनः मतदानको माग गर्ने एमालेले पनि माग पूरा हुने भएपछि निर्वाचनको तयारीमा जुटेको छ । पुनः मतदान स्वच्छ, निष्पक्ष र धाँधलीरहीत बनाउन सबै दलले प्रतिबद्धता जनाएका छन् ।

जिल्लामा राजनीतिक दल र स्वतन्त्र गरी ५३ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । सबै उम्मेदवाहूरूले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, सडक, पुल लगायतका विषयवस्तुलाई चुनावी एजेण्डा बनाएका छन् ।

अन्य

भिडियो