प्रतिनिधिसभा सदस्यको मतपेटिकामा प्रदेशसभा सदस्यको भेटिएको मतपत्र गणना नगर्ने निर्णयसँगै नेकपा एमालेलगायतका बीस जना उम्मेदवारले मतगणना बहिस्कार गरेका छन् ।
मङ्सिर १३ गते मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद सुवेदीले भेटिएको १ सय थान मतपत्र बदर गर्ने निर्णय सुनाएसँगै एमालेलगायतका दलहरूले गणना बहिस्कार गरेका हुन् ।
गणना बहिस्कार गर्दै नाराजुलुससहित निस्किएका एमाले कार्यकर्ताले मुख्य निर्वाचन अधिकृतलाई सत्ताको चरम दुरूपयोग गरेको आरोप लगाएका छन् ।
एमाले उम्मेदवार मञ्जुकुमारी चौधरीले न्याय दिने व्यक्ति नै सत्ता र शक्तिको प्रलोभनमा परेको आरोप लगाउनु भएको लगाउनु भएको छ । चौधरीले भन्नुभयो ‘मुख्यनिर्वाचन अधिकृत न्यायाधिशबाट यस्तो निर्णय आउँछ भन्ने हामीले सोचेका थिएनौँ, उहाँबाट सत्ता र शक्तिको दुरूपयोग भयो, यसको हिसाब हामी खोज्छौ ।’
एमाले अध्यक्ष परमेश्वर घिमिरेले मतगणना पूर्व मङ्गसिर ५ गते भएको सर्वदलीय बैठकको निर्णय अनुसार अन्य मतपेटिकामा भेटिएको मतपत्र मुख्यनिर्वाचन अधिकृतले नै गणना नगर्ने निर्णय सुनाउनुले स्वतन्त्र न्याय दिन नसकको आरोप लगाउनु भएको छ । उहाँले पुनः मतदान गर्नुपर्ने एमालेको बटमलाइन यथावत रहेको बताउनु भयो । एमालेले पुनः मतदानको माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएको छ ।
मङ्सिर १३ गते न्यायाधीशविरूद्ध एमाले कार्यकर्ताले नारावाजी गरेका छन् । मतगणनास्थलबाट एमालेसहितका उम्मेदवार बाहिरिएपछि मुख्यनिर्वाचन अधिकृतले मङ्सिर १३ गते मतगणना कार्य अघि बढाएका छन् ।
पटक–पटक मतगणनाका लागि प्रतिनिधि पठाई दिन आग्रह गर्दा उम्मेदवारले प्रतिनिधि नपठाएपछि गणना कार्य सुरू गरिएको मुख्यनिर्वाचन अधिकृत कृष्णप्रसाद सुवेदीले बताउनु भयो ।
उहाँले भन्नुभयो ‘हामीले प्रतिनिधि पठाइदिनु भनेका छौ, ज–जसले पठाउनु भयो त्यहीँ अनुसार गणना सुरू गरेका हौ ।’ गणनाका लागि नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीले मात्र प्रतिनिधि पठाएका छन् । बाँकी उमेदवारले वहिस्कार गरी गणनास्थल छोडेका छन् ।
मतगणना सुचारू गर्न पटक–पटक बसेको सर्वदलीय बैठक बिना निष्र्कष टुङ्गिएपछि मुख्यनिर्वाचन अधिकृतले मङ्सिर मतगणना कार्य अघि बढाएका हुन् ।
गणना कार्य स्थगित हुनुको कारणसहित निर्वाचन आयोगलाई निर्णयका लागि पठाइएको पत्रको जवाफमा मुख्यनिर्वाचन अधिकारीलाई निर्णय गर्ने अधिकार प्रत्यायोजन गरिएको छ ।
एमालेले भेटिएको प्रदेशसभाको मतपत्र गणना गर्नु पर्ने अडान राखिरहँदा कांग्रेसले गणना गर्न नहुने अडान राखेको थियो ।
मङ्सिर १० गते मतगणनाका क्रममा पछिल्लो पटक खोलिएको १० ओटा मतपेटिकामा उदयपुर १ (२) प्रदेश सभाको १ सय मतपत्र भेटिएपछि गणना रोकिएको थियो । ६३ हजार ८० मत गणना भइसकेपछि थप गणनाका लागि १० ओटा मतपेटिका खोल्दा प्रदेशतर्फको १ सय ओटा मतपत्र भेटिएको थियो ।
७६ हजार ७ सय ५६ मत खसेको यो क्षेत्रको ६३ हजार ८० मत गणना भइसकेको छ । गणना भइसकेकोमा कांग्रेस उम्मेदवार नारायण खड्काले १ हजार ८ सय २५ मतले अग्रता लिनु भएको छ । खड्काले २७ हजार ४ सय ८४ मत प्राप्त गर्नु भएको छ भने भने एमालेकी मञ्जुकुमारी चौधरीले २५ हजार ६ सय ५९ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ ।
