निर्वाचन आयोगको जाँचबुझ टोलीले जिल्लाका १० ओटा मतदानकेन्द्रमा पुन मतदान गर्न प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियालाई ०७९ मङ्सिर ११ गते प्रतिवेदन बुझाएको छ ।
बुथ कब्जा भएको भन्दै आयोगमा उजुरी परेपछि आयोगले खटाएको जाँचबुझ टोलीले जिल्लाको स्थलगत अध्ययनपछि प्रमुख निर्वाचन आयुक्त थपलियालाई प्रतिवेदन बुझाएको हो ।

जाँचबुझ टोलीले दोलखामा स्वतन्त्र र निष्पक्ष मतदान हुन नसकेको निष्कर्षसहित प्रतिवेदन बुझाएको छ ।
प्रतिनिधिसभा र प्रदेशसभाको मतदान सम्पन्न भएको दिननै एमालेले जिल्लाको विभिन्न स्थानमा सत्ता गठबन्धन दलले बुथ कब्जा गरेको भन्दै पुनः निर्वाचनको माग गरी जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय मार्फत निर्वाचन आयोगमा उजुरी गरेको थियो ।
सो उजुरी बारे वस्तुस्थिति बुझ्न आयोगले सहसचिव यज्ञप्रसाद भट्टराईको नेतृत्वमा तीन सदस्यीय जाँचबुझ टोली खटाएर छानबिन गरेको थियो ।
प्रतिवेदनमा मतदान केन्द्र कब्जा गरिएको, हुलहुज्जत गरेर स्वतन्त्र र निष्पक्ष मतदान हुन नदिएको उल्लेख छ । स्वतन्त्र र निष्पक्ष मतदान नहुनुमा दलहरू मुख्य जिम्मेवार रहेको छानबिन समितिको ठहर छ । सुरक्षा व्यवस्था राम्रो भए पनि हुलहुज्जत गरेर मतदान प्रभावित पारिएको प्रतिवेदनको निष्कर्ष छ ।
प्रतिवेदनको आधारमा निर्णय लिन निर्वाचन आयोगले जिल्लाका १० ओटा मतदानकेन्द्रमा पुन: मतदान गर्ने निर्णय गरी मङ्सिर १५ गते भित्र मतदान प्रकृया सक्न जिल्ला निर्वाचन कार्यलयलाई पत्रचार गरेके छ ।
आयोगले बैत्यश्वरको वडा नं. ६ (क, ख, ग), वडा नं. ३ कालिढुङ्गा (क, ख, ग), वडा नं. २ को जनज्योति (क, ख) र तामाकोसीको जामुने हेल्थपोस्ट (क, ख) केन्द्रमा पुन चुनाव हुने आयोगले निर्णय गरेको हो ।
