INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रभातफेरीको आयोजना गरी महिला हिंसाविरुद्ध १६ दिने अभियान सुरु

सभ्य समाजको पहिचान लैङ्गिक हिंसा विरुद्धको अभियान भन्ने मूल नाराका साथ मङ्सिर ९ गतेबाट लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको छ ।

धनुषा प्रतिनिधि दिपेन्द्र प्रसाद सिंहका अनुसार महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालय मधेस प्रदेशको आयोजना र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश, राष्ट्रिय मानव अधिकार आयोग, ओरेक नेपाल, जानकी महिला संजाल, माइती नेपाल, सेद द चिल्ड्रेन लगायतका संघ संस्थाहरूको सहकार्यमा जनकपुरधाम आज विहान प्रभात फेरीको आयोजना गरिएको छ ।

Photo20221126Dhanusha (2)

जनक चोकबाट सुरु गरिएको र्‍याली, शिवचोक, भानुचोक, मिल्सएरिया हुँदै महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालयको प्राङगणमा पुगी कोण सभामा परिणत भएको थियो ।

कोण सभामा महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालय मधेस प्रदेशका उपसचिव देवकुमारी खत्री, इन्सेक मधेश प्रदेश संयोजक राजु पासवान, राष्ट्रिय मानव अधिकार आयोग जनकपुरका प्रमुख मन्जु खतिवडा, ओरेक प्रदेश संयोजक विकास बन्जारालगायतले लैङ्गिक हिंसा विरुद्धको अभियानको सफलताको कामना गर्नु भयो ।

मधेस प्रदेशमा लैङ्गिकताको हिसावले घटनाहरूमा बृद्धि भएको देखिएकाले यसको न्युनिकरणका लागि टोल टोलमा जनचेतनामुलक कार्यक्रम गर्न आवश्यक रहेको इन्सेक मधेस प्रदेश संयोजक पासवानले बताउनु भयो ।

नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म चल्ने सो अभियान अन्तर्गत लैङ्गिक हिंसा नियन्त्रण तथा मानव अधिकार संरक्षणका लागि विभिन्न चेतनात्मक कार्यक्रम गरिने पासवानले जानकारी दिनु भयो ।

Photo20221126Dhanusha (1)

सिरहा प्रतिनिधि दुर्गा परियारका अनुसार सिरहा नगरपालिका, लहान नगरपालिका, धनगढीमाई नगरपालिका, इन्सेक, मुक्ति नेपाल, ओरेक, दलित जनकल्याण यूवा कल्ब, समग्र जनउत्थान केन्द्र लगायत संघ संस्थाको संयुक्त आयोजनामा आज विहान सिरहामा प्रभातफेरीको आयोजना गरिएको छ ।

“सभ्य समाजको पहिचानः लैङ्गिक हिंसा विरुद्धको अभियान” भन्ने मुल नाराका साथ आज लैङ्गिक हिंसा विरूद्धको अन्तर्राष्ट्रिय दिवस प्रभातफेरीबाट सुरु गरिएको हो ।

विहान निकालिएको प्रभातफेरी कोण सभामा परिणत भएको थियो । कोण सभामा सिरहा नगरपालिकाका नगर उपप्रमुख बबिताकुमारी साहले महिला हिंसा न्यूनिकरणमा सबै सरोकारवाला निकाय एकताबद्ध भएर लाग्नु पर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा मानव अधिकारका क्षेत्रमा कार्यरत संघ संस्था, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र  इलाका प्रशासन कार्यालय लगायतका प्रतिनिधि र सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।

Photo20221126Siraha

सर्लाही प्रतिनिधि वुधन साहका अनुसार ३१ औँ अन्तर्राष्ट्रिय लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान कार्यक्रमको आज पहिलो दिन २५ नोभेम्बर अर्थात मङ्सिर ९ गते विहान मलंगवा नगरपालिका कार्यालयको आयोजना तथा इन्सेकलगायत संघ संस्थाको सहकार्यमा विहान प्रभातफेरीको आयोजना गरिएको छ ।

प्रभातफेरी मलंगवा नपा–८ स्थित झण्डा बाजारदेखि मेन चौक हुँदै बस पार्कस्थित बालबन्दिरको सभा हलमा पुगी सभाको आयोजना गरी सम्पन्न गरिएको थियो ।

महिला हिंसाविरुद्धको अभियान जनस्तरमा जागरुकता फैलाउने र महिला हिंसा न्युनिकरण गर्ने कार्यमा सबै सरकारी तथा गैरसरकारी संस्थाहरूसँग समन्वय आवश्यक रहेको प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले बताउनु भयो ।

महिला हिंसा, यौन हिंसा, बलातकार तथा घरेलु हिंसा लगायतका घटना छिटोछरितो तरिकाले कारवाही हुने गरि कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय मलंगवाका एसपी प्रविण पोखरेलले बताउनु भयो ।

मलंगवा नगरपालिकाका प्रत्येक वडामा महिला हिंसा सम्बन्धी सचेतना मुलक कायक्रम संघ संस्थाको सहयोगमा अगाडि बढ्ने गरी मलंगवा नगरपालिकामा महिला हिंसा न्युनिकरण तथा बालविवाह हुन नदिन अभियानहरू संचालन गरिने मलंगवा नगरपालिका कार्यालयका नगर प्रमुख नागेन्द्रप्रसाद यादवले जानकारी दिनु भयो ।

Photo20221126Sarlahi

महोत्तरी प्रतिनिधि अजय कुमार साहका आनुसार जिल्ला सदरमुकाम जलेश्वरमा प्रभातफेरीको आयोजना गरी लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको सुरुवात गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय महोत्तरीको आयोजना तथा इन्सेक, ओरेक, टिपीओ नेपाल, स्पर्श, जिल्ला प्रहरी कार्यालय र युवा जिल्ला संजाल लगायत विभिन्न संघ संस्थाको समन्यमा जलेश्वरको महेन्द्र चोकबाट सुरु गरिएको प्रभातफेरी नगरपरिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालयको प्राङ्गनमा आई कोण सभामा परिणत भएको थियो ।

Photo20221126Mahottari (2)

“सभ्य समाजको पहिचानः लैङ्गिक हिंसा विरुद्धको अभियान” भन्ने राष्ट्रिय नाराका साथ आजदेखि संचालन गरिएको लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तर्गत आज आयोजित प्रभात फेरि पछिको कोण सभालाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी दिपक पहाडीले विपतमा होस कि सामान्य अवस्थामा महिलाले हिंसा भोग्नु परेको अवस्था रहेको बताउनु भयो । उहाँले हिंसाविरुद्धको अभियानमा महिलामात्र नभई पुरुषको ऐक्यवद्धता उत्तिकै जरुरी रहेको बताउनु भयो ।

जिल्ला प्रहरी कार्याल धनुषाका एसपी कृष्ण पंगेनीले हिंसा सहेर र हेरेर नबसी, बेलैमा उजुरी गर्नु पर्ने बताउनु भयो । उहाँले लैङ्गिक हिंसा सम्बन्धि कुनै उजुरी वा सूचना दिनुपरेमा नेपाल प्रहरीको १०० वा बालबालिका खोजतलास समन्वय केन्द्रको १०४ नम्बरमा सम्पर्क गर्न सकिने जानकारी दिनु भयो ।

Photo20221126Mahottari (1)

इन्सेक महोत्तरीका प्रतिनिधि अजय साहले १६ दिने अभियान बारे जानकारी दिंदै …Unite ! Activis To End Violence Against Women and GirlsÚ  भन्ने अन्तर्राष्ट्रिय नाराको आधारमा उक्त राष्ट्रिय नारा तय गरी १६ दिनको अवधिभर कार्यक्रम संचालन गरिने बताउनु भयो ।

अन्य

भिडियो