INSEC Online

📅 २०८३ जेष्ठ २१

समाचार लेखेकै आधारमा पत्रकारमाथि आक्रमण, आक्रमणको निन्दा

समाचार प्रकाशनको विषयलाई लिएर त्रियुगा नगरपालिका-१० गाईघाटका ४० वर्षीय पत्रकार नेत्रकुमार सुनुवार (सञ्चार किराँती) माथि भएको आक्रमणको नेपाल पत्रकार महासङ्घ उदयपुर शाखाले जेठ ४ गते विज्ञप्तिमार्फत भत्सर्ना गरेको छ ।

शाखाका अध्यक्ष भरत खड्काद्वारा हस्ताक्षरित विज्ञप्तिमा घटनाको यथाशीघ्र अनुसान्धान गरी दोषिलाई कानुनी कारबाही र पीडितलाई न्याय दिलाउन सम्बद्ध पक्षसँग माग गरिएको छ । उदयपुर पोष्ट साप्ताहिकका प्रकाशक तथा महासङ्घका साधारण सदस्यसमेत रहेका सुनुवार माथिको आक्रमण सिङ्गो प्रेसजगत माथिकै भएको महासङ्घको भनाइ छ । जेठ ३ गते साँझ आफ्नै घरमा बसिरहेका किराँतीमाथि मुकुण्डो लगाएर आएका दुई जना अपरिचित व्यक्तिले आक्रमण गरेको बताइएको छ ।

गत वैशाख ८ गते नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताको अपहरणमा परेका उदयपुरगढी गाउँपालिका-६ का प्राविधिक सहायक उद्धब ढुङ्गानाको समाचार सम्प्रेषणको विषयलाई लिएर आक्रमण भएको पीडित पत्रकारले बताए ।

‘अस्ती विप्लव माओवादीको समाचार लेख्ने तैँ हैनस् ?” भन्दै अपरिचित व्यक्तिहरूले कुटपिट गरेको पीडित पत्रकार किराँतीको भनाइ छ । विज्ञप्तिमा समाचार लेखेकै विषयमा आक्रमण गर्नु र पत्रकारको कलम भाँच्ने कोशिस गर्नु लोकतन्त्र, गणतन्त्र र वाक स्वतन्त्रताको धज्जि उडाउनु हो भनिएको छ ।

अन्य

भिडियो