INSEC Online

📅 २०८३ जेष्ठ २१

आयोगले जिल्लाको राय बुझेपछि निर्णय गर्न छानबिन टोलि खटियो

निर्वाचन आयोगले दोलखाको बिभिन्न मतदान केन्द्रमा बुथ कब्जा भएको भनि परेको उजुरीबारे सत्यतथ्य जाँचबुझ गर्न सहसचिव यज्ञप्रसाद भट्टराईको नेतृत्वमा तीन सदस्यीय छानबिन टोली खटाएको छ । टोलिमा गुरु वाग्ले र मोहनराज जोशी सदस्य छन् ।

उक्त टोलिले मङ्सिर ७ गते बिहानबाट जिल्ला स्थित सरोकारवालाहरूसँग छलफल गरिरहेको छ ।

यही मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा जिल्लाको बिभिन्न मतदान केन्द्रमा बुथ कब्जा गरेको र उक्त स्थानमा पुन: मतदान हुनुपर्ने माग गर्दै नेकपा एमालेका उम्मेदवारहरूले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका छन् । उक्त उजुरी उपर आयोगले अझै निर्णय गरिसकेको छैन ।

यसैबीच निर्णय नभई मतगणना प्रक्रिया अघि नबढाउन आयोगले निर्देशन दिएको छ । जिल्ला स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई पत्राचार गर्दै आयोगले आवश्यक निर्णयपछि मतगणना प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो ।

बुथ कब्जा भएको भनिएको स्थानको सत्यतथ्य विवरण पठाउनु, आवश्यक निर्णयपछि मात्रै मतगणना प्रक्रिया अघि बढाउनु, आयोगले गरेको पत्राचारमा भनिएको छ ।

जसका कारण मतगणना सुरु गर्ने वा बुथ कब्जा गरिएको भनिएको स्थानमा पुन मतदानपछि मतगणना सुरु गर्ने भन्ने विषय अन्यौलमा छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार निर्वाचन आयोगले पठाएको पत्रका आधारमा तत्काल जवाफ पठाउने तयारी भैरहेको छ ।

बुथ कब्जा गरिएका स्थानमा पुनः मतदान नगरे मतगणना प्रक्रियामा भाग नलिने एमालेको अडान छ भने मतगणना सुरु गर्न ढिलाई भएको प्रति सत्तारुढ गठबन्धनले विरोध जनाईरहेका छन् ।

एमाले उम्मेदवारले दिएको उजुरी उपर छानबिन गर्न आयोगले छुट्टै टोली समेत खटाएको हो ।

मुख्य निर्वाचन अधिकृतको राय र आयोगले खटाएको टोलीले बुझाउने रिपोर्टको आधारमा आयोगले पुनः मतदान गराउने वा मतगणना सुरु गर्ने भन्ने बारे आवश्यक निर्णय लिने बताईएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले मङ्सिर ६ गते नै एक सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मको लागि मतगणना स्थगित रहने जनाएको छ ।

अन्य

भिडियो