निर्वाचन आयोगको निर्णय नआउँदा दोलखामा प्रदेश सभा तथा प्रतिनिधि सभा दुवैतर्फको मतगणना अन्योलमा परेको छ ।
नेकपा एमालेले सत्ता गठबन्धन दलले जिल्लाका विभिन्न स्थानमा बुथ कब्जा गरेको आरोप सहितको उजुरी मुख्य निर्वाचन अधिकृतको कार्यालय मार्फत निर्वाचन आयोगमा पठाएको थियो ।
यसैबीच, जिल्ला निर्वाचन कार्यालयका मुख्य निर्वाचन अधिकृत डिल्लिरत्न श्रेष्ठले मङ्सिर ६ गते एक सूचना प्रकाशन गरी निर्वाचन आयोगबाट कुनै निर्णय भई नआएकोले निर्वाचन आयोगको निर्णय नआएसम्म मतगणना कार्य स्थगित भएको जनाउनु भएको छ ।
सो उजुरीका विषयमा निर्वाचन आयोगले अहिलेसम्म निर्णय नगर्दा जिल्लामा कहिलेबाट मतगणना सुरु हुन्छ भन्ने विषयमा अन्योलता सिर्जना भएको हो ।

मतगणना सुरु नभएपछि मतगणनाको माग गर्दै गठबन्धन दलले लगातार नारावाजी सहित प्रदर्शन गरिरहेका छन् ।
सत्ता गठबन्धन दलका उम्मेदवारसहित नेता तथा कार्यकर्ताहरूले तत्काल मतगणनाको माग सहित नारावाजी गरेका थिए ।
निर्वाचन सम्पन्न भएको दुई दिन वितिसक्ता पनि एमालेको उजुरीका कारण दोलखामा अहिलेसम्म मतगणना सुरु नभएको हो ।
यसैबीच सत्ता गठबन्धन दलको तर्फबाट प्रतिनिधि सभातर्फ उम्मेदवार बनेका गंगा कार्कीले दोलखाका मुख्य निर्वाचन अधिकृत प्रभावित भएकाले मतगणना सुरु गर्न नसकेको आरोप लगाउनुभएको छ ।
उहाँले सामाजिक सञ्जालमा स्टाटस लेख्दै नेकपा एमालेको तर्फबाट मुख्य निर्वाचन अधिकृत प्रभावित भएकाले दोलखामा मतगणना सुरु हुन नसकेको बताउनुभएको हो ।
नेकपा एमालेले दर्ता गराएको उजुरी सर्वदलिय बैठकमा छलफल नै नगरी उजुरी आए लगत्तै निर्वाचन आयोगमा पठाएर मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणना कार्य प्रभावित बनाएको उम्मेदवार कार्कीले बताउनुभयो ।
