त्रिवेणी नगरपालिका–७ का अनेरास्ववियुका केन्द्रीय सदस्य चेतन अयडीको कांग्रेस कार्यकर्ताको कुटपिटबाट मङ्सिर ४ गते राति मृत्यु भएको छ ।
कुटपिटबाट घाइते भएका उपचारका लागि अछाम जिल्लाको बयालपाटा अस्पताल लगेका थिए । अयडीको मृत्यु भइसकेको बयलपाटा अस्पतालको प्रमुख डाक्टर मन्दिप पाठकले बताउनु भयो ।
त्रिवेणी नपा–७ को नाटेश्वरी आधारभुत विद्यालय दम्था मतदान केन्द्रको विवादलाई लिएर नेपाली कांग्रेसका कार्यकर्ताहरूले चेतन अयडीको घरमै गएर कुटपिट गरेर हत्या गरेको पीडित पक्षको आरोप छ ।
अयडी घरभित्र रहेको समयमा घर भित्रैबाट तानेर निर्घात कुटपिट गरेको चेतन अयडीका भाइ मिलन अयडीले बताउनु भयो ।
अयडीको शव अहिले बयलपाटा अस्पतालको शवगृहमा राखिएको अस्पतालले जनाएको छ ।
त्रिवेणी नपा–७ मा दिउँसो मतदानको समयमा नेपाली कांग्रेसका कार्यकर्ताले बुथ कब्जा गर्न खोजेपछि सुरक्षाकर्मीले गोली चलाउँदा एक जनाको घटनास्थलमै मृत्यु भएपश्चात विवादले चर्को रुप लिएको थियो ।
सुरक्षाकर्मीको गोली लागेर कांग्रेस कार्यकर्ता सञ्जिव अयडीको मृत्यु भएको थियो । सञ्जिव अयडीको मृत्युपछि कांग्रेस कार्यकर्ताले घरघरमा गएर एमाले कार्यकर्तामाथि कुटपिट गरेको एमालेले आरोप लगाएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी लोकन्द्र बिष्टले घटना भएको क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरेर घटनामा संलग्नहरूको खोजी भइरहेको बताउनु भयो । अहिलेसम्म पीडित पक्षबाट किटानी उजुरी भने आइनसकेको बिष्टले बताउनु भयो ।