अपाङ्गता भएकी ४५ वर्षीया एक महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत मोरङले कानेपोखरी गाउँपालिका-७ स्थित बयरवनका २५ वर्षीय राम गुरुङलाई १० वर्षकैद सजायको फैसला गरेको छ ।
न्यायाधीश प्रकाश राउतको इजलासले जेठ १ गते कैदको फैसलासँगै आरोपितबाट ५० हजार रुपियाँ पीडितलाई क्षतिपूर्ति भराउने फैसला गरेको जिल्ला अदालत मोरङका श्रेस्तेदार नवराज दुलालले बताए ।
श्रेस्तेदार दुलालका अनुसार पाँच वर्षो कैद फैसला भएकोमा पीडित बोल्न नसक्ने अपाङ्गता भएकी कारण थप पाँच वर्षगरी दश वर्षकैद सजायको फैसला भएको हो ।
घटनापश्चात आरोपित गुरुङ हालसम्म फरार रहेको र जरिबाना भराउन सक्ने अवस्था नभएकोले पीडितलाई महिला तथा बालबालिका कार्यालयले क्षतिपूर्ति दिने फैसलामा उल्लेख छ । पीडित महिलालाई आरोपितले ०६९ कात्तिक ९ गते बलात्कार गरेको भन्दै पीडित पक्षले उजुरी दिएका थिए ।