INSEC Online

📅 २०८३ जेष्ठ २१

मतदान गर्न दिनभर हिड्नुपर्ने मतदाताको बाध्यता

मतदान गर्न पाउनु नागरिकको अधिकार हो । आफुले चाहेको व्यक्तिलाई स्वतस्फुर्त मतदाताले मतदान गर्न पाउनुपर्छ । तर सुर्खेतको वीरेन्द्रनगर नपा–११ झुप्राखोलामा बस्दै आएका बृद्धबृद्धा तथा अशक्त व्यक्तिलाई भने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्न पाउँदिनकी भन्ने चिन्ता छ । मतदानस्थल टाढा छ त्यसैले पनि यस पटकको निर्वाचनमा मतदान गर्न पाउँदिन की भन्ने गुनासो सुनाउनु हुन्छ रामदत्त बादी । उमेरले उहाँ ७१ वर्ष पुग्नु भयो उहाँ । राम्रोसँग कान सुन्न सक्नु हुँदैन भने हिड्न सक्ने अवस्था पनि छैन् । लौरोको भरमा ओहोरदोहोर गर्ने रामदत्तबादीलाई मतदान गर्नका लागि दिनभर हिड्नुपर्छ । मतदानस्थल टाढा भएका कारण उहाँलाई थप समस्या भएको छ । ‘मतदानस्थल टाढा छ, ‘उहाँले भन्नुभयो, गाडी आयो भने गाडी बसेर मतदान गर्न जाने हो नभए हिडेर जान सकिदैन’ ।
निर्वाचनको दिनमा सवारी साधन पूर्ण रुपमा बन्द हुने भएकाले यो समुदायमा रहेका करिब ५ सय मतदातालाई समस्या हुने भएको छ ।

यो बस्तीबाट मतदानस्थल करिब १० किलोमिटर टाढा छ । त्यसैलेपनि उक्त बस्तीमा रहेका बृद्धबृद्धा तथा अशक्त व्यक्तिका लागि मतदानमा सहभागी हुन समस्या हुने स्थानीय जय बादी बताउनु हुन्छ । यो समुदायमा करिब १० जना अशक्त हुनुहुन्छ, उहाँहरूका लागि थप समस्या हुने भएको हो । मङ्सिर ४ गते हुन लागेको प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा उक्त समुदायका युवा भने हिडेर भएपनि मतदान गर्न जाने बताउँछन् । स्थानीयले मतदानका लागि वीरेन्द्रनगर नपा–९, १० र ११ मा मतदाता नामवली छ । त्यहीठाउँबाट नै मतदान गर्न जाने स्थानीय राजु बादीले बताउनुभयो । भोट माग्नका लागि विभिन्न दलका उम्मेदवार तथा कार्यकर्ता वस्तीमा आउँछन् । हाम्रो समस्या सुन्छन्, निर्वाचन पश्चात समस्या समाधान हुने आश्वासनपनि दिन्छन् उहाँले भन्नुभयो, ‘तर जितेर गएपछि फर्किएर कुनै उम्मेदवार आएका छैनन् ।’

गाँस, बास र कपासको उचित व्यवस्थापनकालागि माग गर्दै आएको उहाँको भनाई छ । यही समस्यालाई करिब २५ वर्षदेखि  सुनाउँदै आयौ तर अहिलेसम्म कसैले पनि हाम्रो समस्या समाधानकालागि फर्किएर आउदैनन् । समस्या उस्तै छन् । तरपनि दिनभर हिडेर अथवा आफन्तको घरमा बास बसेर भएपनि मतदान गर्न भने जाने उहाँको योजना छ । सरकारले गाँस, बाँस र कपासको उचित व्यवस्था गरिदिएको भए खोलाको छेउमा आएर बस्नुपर्ने बाध्यता हटने उहाँको भनाई छ । बादी समुदायको उचित व्यवस्थापन हुन नसक्दा कतिपय नागरिक यो पटकको निर्वाचनमा मतदान गर्नबाट वञ्चित हुनुपर्ने अवस्था रहेको उहाँले गुनासो गर्नुभयो । साथै, केही मतदाता भने मतदानको अघिल्लो दिन नै मतदानस्थल नजिकका आफन्तको घरमा बाँस बसेर मतदान गरेर फर्कने बताएका छन् ।

यता प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले निर्वाचनका दिन पूर्ण रुपमा सवारी साधन बन्द हुने बताउनुभयो । मतदानमा सहभागी हुनका लागि मतदाता आफैले आफ्नो व्यवस्था गरेर मतदानमा सहभागी हुनुपर्ने उहाँको भनाई छ । उम्मेदवार र उम्मेदवारका प्रतिनिधिलाई सवारी साधनको व्यवस्था भएपनि मतदातालाई भने कुनै विकल्प नरहेको प्रमुख जिल्ला अधिकारी रिजालले बताउनुभयो ।
PhotoSurkhet20221119 (1)

PhotoSurkhet20221119 (2)

PhotoSurkhet20221119 (3)

अन्य

भिडियो