प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनको पूर्व सन्ध्यामा जिल्लाका दुई ओटा स्थानमा अज्ञात पक्षले बम विष्फोट गराएको प्रहरीले जनाएको छ ।
मङ्सिर २ गते राति उदयपुरगढी गाउँपालिका–७ र ८ को मध्यभागको जङ्गल र त्रियुगा नगरपालिका–१६ को जङ्गलमा बम विस्फोट भएको छ ।
दुई ठाउँमा बम विस्फोट भएपनि सुरक्षा निकायले भने उदयपुरगढीमा भएको विस्फोटको मात्र पुष्टि गरेको छ ।
प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले मङ्सिर २ गते राती करिव ११ः४५ बजेको समयमा जङ्गलमा बम पड्किएको बताउनु भएको छ ।
प्रमुख जिल्ला अधिकारी गौतमले भन्नुभयो ‘बमको जस्तो आवाज आएपछि सडक, वस्ती र मतदानस्थलमा सुुरक्षा सतर्कता बढायौँ, तर घटनामा संलग्नहरू कहीँ भेटिएन, हाम्रो अनुमान जङ्गलमै पड्किएको हुनु पर्दछ ।
त्रियुगा नगरपालिका–१६ का स्थानीयले ठूलो आवाजसहित पड्किएको बताएपनि बम हो वा होइन भन्ने यकिन नभएको बताएका छन् ।
बम विस्फोटसँगै प्रहरीले जिल्लामा सुरक्षा सर्तकता र निगरानी बढाएको छ । घटनाको हालसम्म कुनै पक्षले जिम्मा लिएको छैन् ।
नेकपा माओवादी विप्लव समूहले निर्वाचन वहिस्कार गरेकाले सो विष्फोटमा सोही समूहको संलग्नता हुन सक्ने प्रहरीको भनाइ छ ।
प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जिल्लामा भयको अवस्था नरहेकाले सबै मतदातालाई भयरहित र निश्पक्ष ढङ्गमा मतदान गर्न आग्रह गर्नु भएको छ ।
बम विष्फोटको घटनापछि जिल्लामा मतदानस्थलसहित सबै क्षेत्रको सुरक्षा व्यवस्था मजबुत बनाएको प्रमुख जिल्ला अधिकारीको भनाइ छ ।
मङ्सिर ४ गतेको निर्वाचनलाई विथोल्नका लागि बम विष्फोट गराइएको हुन सक्ने प्रहरीले जनाएको छ ।



