प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन ०७९ को पूर्व सन्ध्यमा प्रदेश १ का दुई ओटा जिल्लामा खटिएका मतदान कर्मचारीको मृत्यु भएको छ ।
सोलुखुम्बु प्रतिनिधि अञ्जु कार्कीका अनुसार नेचासल्यान गाउँपालिका–४ फुर्के सामुदायिक वन मतदान केन्द्रमा खटिएका मतदान अधिकृत ५६ वर्षीय विल्टु राय मङ्सिर ३ गते सुतेकै ठाउँमा मृत फेला पर्नु भएको छ ।
राय सुतेकै ठाउँमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रामकिशोर शाहले बताउनु भयो ।
सर्लाही, हरिपुर्वा नगरपालिका–५ स्थायी घर भइ राय आयुर्वेद स्वास्थ्य केन्द्र नेचामा कार्यरत हुनुहुन्थ्यो ।
राय लामो समयदेखि सुगर र मुटुको औषधि प्रयोग गर्दै आएको प्रहरीले जनाएको छ । घटनाका विषयमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
धनकुटा प्रतिनिधि ईश्वर थापाका अनुसार सागुरीगढी गाउँपालिका–३ मा मतदानमा खटिनु भएकी सहायक कर्मचारीको मृत्यु भएको छ ।
मतदानमा खटिनु भएकी पबित्रा लिम्बुको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले पुष्टि गर्नु भएको छ ।
मङ्सिर २ गते मतदानस्थलको व्यवस्थापन गरिरहेको बेला असहज भएपछी लिम्बूलाई घर पठाइएको थियो ।
कर्मचारी लिम्बू घर पुग्ने वित्तिकै अचानक ढलेको र मृत्यु भएको प्रमुख जिल्ला अधिकारी कट्टेललको भनाइ छ ।