चुनावी प्रचार सामग्री सामाजिक सञ्जालमा शेयर गरी निर्वाचन आचार संहिता उल्लङ्घन गरेको भन्दै धवलागिरी गाउँपालिका–५ को महेन्द्र आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रका मतदान अधिकृत नविन कार्कीलाई ०७९ मङ्सिर १ गते जिम्मेवारीबाट हटाइएको छ ।
मतदान अधिृकत कार्कीले प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार हरिकृष्ण श्रेष्ठकोलाई जिताउन अपिल गरिएको डिजिटल पोष्टर आफ्नो फेसबुकमा सेयर गर्नुभएको भन्दै नेकपा माओवादी केन्द्रका ज्ञानेन्द्र सुवेदीले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिनुभएको थियो ।
उजुरीको आधारमा कार्कीलाई स्पष्टिकरण मागेर जिम्मेवारीबाट मुक्त गरिएको मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद नेपालले बताउनुभयो । कार्कीलाई स्पष्टीकरणपछि जानकारी गराएर जिम्मेवारीबाट हटाइएको हो ।
मालिका गाउँपालिका–४, को ओखरबोट माध्यमिक विद्यालयका प्रधानाध्यापक रहेका कार्कीले निर्वाचन र मतदान अधिकृतको आचार संहिता विपरीतको कार्य गरेपछि जिम्मेवारीबाट हटाइएको मुख्य निर्वाचन अधिकृत नेपालले बताउनुभयो ।
कार्कीलाई हटाएर सोही केन्द्रका सहायक निर्वाचन अधिकृत बिष्णुप्रसाद पौडेललाई मतदान अधिकृत बनाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत तेजनारायण पौडेलले जानकारी दिनुभयो ।