INSEC Online

📅 २०८३ जेष्ठ २१

मतदाताले निर्भयपूर्वक मतदान गर्न पाउने वातावरण सिर्जना गर्न पत्रकारसँग आग्रह

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा मतदाताले निर्भय पूर्वक मतदान गर्न पाउने वातावरण बनाउन पत्रकारहरूसँग आग्रह गर्नुभएको छ ।

इन्सेकले निर्वाचन आचारसहिंता पालना र मतदान पहिलेको अवस्थाका विषयमा मङ्सिर १ गते दैलेख सदरमुकाममा गरेको पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा उहाँले भोलि मङ्सिर २ गतेदेखि लागू हुने मौनसमयको पालना भए नभएको खवरदारी आवश्यक रहेको बताउनुभयो ।
प्रदेश संयोजक सुवेदीले समयमा मिडियामा सूचना आउँदा आचार सहिंता पालना पर्ने राजनीतिक दल र उम्मेदवारलाई सजग गराउनुसँगै सरोकारवाला निकायलाई कार्यान्वयन गराउन सहज हुने भएकाले आचारसहिंता उल्लङघनका सत्यतथ्य घटना सार्वजनिक हुनुपर्ने धारणा राख्नुभयो ।

मानव अधिकार रक्षक सञ्जाल दैलेखका संयोजक विशाल सुनारको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा पत्रकार बिष्णु शर्मा, तीर्थ भण्डारी, कमल शर्मा, अधिकारकर्मी रमा श्रेष्ठ लगायतले जिल्लामा निर्वाचन आचारसहिंता पालनाको अवस्था र सरकारी निकायको तत्परताका विषयमा बोल्नुभएको थियो ।

मतदान पूर्व निर्वाचन आचारसहिंता पालनाको प्रभावकारिता विषयमा स्थलगत अध्ययन गर्न आएको (इन्सेक कर्णाली प्रदेश संयोजक नारायण सुबेदी नेतृत्वको टोली दैलेखका मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश बलराम लम्साल, प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाल, आचारसहिंता अनुगमन अधिकृत मोहन जैसवाल र जिल्ला निर्वाचन कार्यालयका प्रमुख मनमाया काउचासँग भेटघाट गरेको थियो ।

भेटघाटमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन कार्यक्रम अनुसार मङ्सिर ४ गते हुने मतदानमा सबै मतदाताले सहजै र निर्भयपूर्वक सहभागी हुने वातावरण निम्ति भइरहेका तयारी, सरोकारवाला निकायसँग सहकार्य, पत्रकार र पर्यवेक्षकहरुले गर्ने पर्यवेक्षण काममा समन्वय विषयमा छलफल भएको थियो ।

इन्सेकको मतदान पूर्वको अवस्था अध्ययन टोलीले कात्तिक ३० गते राउटे समुदायको चुनाव चासो विषयमा राउटे समुदायसँग छलफल गरेको थियो । टोलीले निर्वाचनमा स्थानीय सरकारको समन्वय विषयमा बेस्तडा पुगेर भगवतीमाई गाउँपालिका अध्यक्ष गणेशबहादुर थापा लगायतका अधिकारीसँग भेट गरी जानकारी लिएको थियो ।

अनुगमन टोलीले समुदायका सवाल जान्न दैलेख सदरमुकाम नजिकै नमूनाबस्तीका बादी समुदायले घरबास बनाई १९ वर्षदेखि बसेको जग्गाको पूर्जा नपाएको, त्यहाँ खानेपानी, शौचालय लगायतका भौतिक सुविधाबाट बञ्चित रहेको विषय उठाएका थिए ।

टोलीले स्वच्छ, निष्पक्ष, भयरहित वातावरणमा मतदानको अवस्था भए नभएको अनुगमन गर्न इन्सेकले दैलेखका ११ वटै स्थानीय तहमा नियुक्त गरेका निर्वाचन पर्यवेक्षकलाई पर्यवेक्षण काममा तटस्थता र आचारसहिंता पालनाको अपरिहार्यता विषयमा अभिमुखीकरण समेत गरेको छ ।

इन्सेकले देशभर सबै स्थानीय तहमा पर्यवेक्षक खटाउने कार्यक्रम अन्तरत दैलेखका ११ स्थानीय तहमा एक–एक जना निर्वाचन पर्यवेक्षक खटाएको छ । देशभर सबै स्थानीय तहमा ७ सय ५० जना र त्यस अन्तरगत दैलेख लगायत कर्णाली प्रदेशमा ७९ जना पर्यवेक्षक नियुक्त गरेको इन्सेकले जनाएको छ ।

Dailekhphoto20221117 (1) Dailekhphoto20221117 (2) Dailekhphoto20221117 (3) Dailekhphoto20221117 (4) Dailekhphoto20221117 (5) Dailekhphoto20221117 (6)

अन्य

भिडियो