निर्वाचनको मौन अवधि सुरु हुन एक दिन मात्र बाँकी रहँदा निर्वाचनमा होमिएका उम्मेदवारहरुले ठूला ठूला लाउडस्पिकर, डिजे माइकसहितको र्याली, जुलुस निकालेर निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका छन् ।
राजविराजमा ०७९ कात्तिक ३० गते सत्ता गठबन्धनले विशाल र्याली, जुलुस निकालेर नगर परिक्रमा गरेको छ । जुलुसमा साउण्ड बक्स, डिजे बाजासहितको दर्जन बढी टेम्पो, सिटी रिक्सा र प्रशस्त मात्रामा मोटरसाइकलको प्रयोग गरिएको छ ।
मोटरसाइकलको हर्न र डिजे साउण्ड बक्सको चर्को आवाजले ध्वनी प्रदुषण भएको छ । प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका उम्मेदवारसहित निकालिएको जुलुसमा बालबालिकाको प्रयोग समेत भएको छ । आचारसंहिताले निर्वाचन प्रचारप्रसारका गतिविधिमा १८ वर्ष मुनिका बालबालिकाको प्रयोगलाई पनि निषेधित गरेको छ ।
कात्तिक २९ गते नेमकिपा र कात्तिक २८ गते हाम्रो नेपाली पार्टीका उम्मेदवारले समेत राजविराजमा आचार संहिता विपरित जुलुस निकालेको थियो ।
यसैगरी आचार संहिताले “जुलुस, आमसभा, कोणसभा, बैठक भेला वा प्रचारप्रसारका कार्यक्रम गर्दा बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म मात्र गर्नुपर्ने,“ भन्दै त्यस उप्रान्त प्रचारप्रसारको गतिविधि गर्न रोक लगाए पनि उम्मेदवारहरु राति अबेलासम्म मत माग्न र सभा गर्न व्यस्त देखिएका छन् ।
चुनावी मैदानमा रहेका उम्मेदवारहरूले निर्वाचन आचारसंहिताको उल्लङ्न गरे उनीहरूको मनोनयन नै रद्द गर्न सक्ने अधिकार आयोगलाई छ ।
‘निर्वाचन आचार संहिता उल्लङन गरे जरिबानादेखि उम्मेदवारी खारेज हुनेसम्मको व्यवस्था कानुनमा छ ।’–निर्वाचन आयोग, नेपालका उपसचिव एवम सहायक प्रवक्ता कमल भट्टराइले जानकारी दिनु भयो ।
निर्वाचन आचार संहिता उल्लङ्घनको मौखिक उजुरी र गुनासो आउने गरे पनि लिखित उजुरी नआएको जिल्ला निर्वाचन अधिकारी रमेशकुमार जोशीले बताउनु भयो ।


