INSEC Online

📅 २०८३ जेष्ठ २१

मतदाता शिक्षामा बेखबर नयाँ मतदाता !

सम्मरीमाई गाउँपालिका–६ असुरैनाकी सुश्मा आर्य २० वर्षकी हुनु भयो । मङ्सिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा मतदान कसरी गर्ने उहाँलाई थाहा छैन । उहाँ भन्नुहुन्छ–‘पहिलो पटक भोट दिने हो । केही थाहा छैन, कसैले पनि भोट हाल्न सिकाएका छैनन् । चुनाव आउन अब तीन दिन बाँकी छ भन्ने थाहा छ । खै ? कसरी भोट हाल्ने हो म त अलमलमा छु । मतदाता नामावालीमा त मेरो नाम छ । तर कसरी भोट हाल्ने ? थाहा भएन । जानिएन भने बिग्रन्छ होला बिग्रेको भोटको के काम ? खै अझै समय त छ कोही आइ हाल्नु हुन्छ कि !’

सुश्मा मात्र होइन सम्मरीमाई गाउँपालिका–६ असुरैनाकै साधना आर्य पनि अहिले पहिलो पटक मतदान गर्दै हुनु हुन्छ । आर्यलाई निर्वाचन मङ्सिर ४ गते हो भन्ने थाहा त छ तर कसरी मतदान गर्ने सो विषय उहाँको लागि पनि अलमलकै विषय बनेको छ । साधना भन्नुहुन्छ–‘नेताहरु गाडी लिएर घरै छेउबाटै छिन छिनमै हिँडछन् । तर, भोट कसरी हाल्ने तरिका सिकाउँदैनन् ।’ कसरी थाहा हुन्छ ? म जस्ता नयाँ मान्छेलाई भोट कसरी हाल्ने ? मैले पढेको छु र त यस्तो अवस्था छ अरुको झन के हालत होला उहाँले भन्नुभयो । चार ओटा मतपत्रमा भोट हाल्ने रे तर कसरी हाल्ने हाँस्दै भन्नुभयो ।

सुश्मा, साधना मात्र होइन सम्मरीमाई गाउँपालिका–६ असुरैनाकै किशुन वारीको अनुभव पनि उस्तै छ । बारी भन्नुहुन्छ म ७० वर्षको भए । भोट सधै दिएकै छु । तर आफ्नै मनले जे जानेको छु त्यसरी नै दिएको छु । मलाई भोट दिने त भन्छन् तर भोट कसरी हाल्ने सिकाउदैनन् । मैले अहिलेसम्म भोट माग्न आएका सबैलाई भोट दिएको छु । किन कसैको मन दुखाउने हाँस्दै भन्नुभयो । वारीलाई भोट दिन नजान्दा विग्रेर वदर हुन्छ भन्ने कुरा थाहा छैन् । अब चुनाव आउदै छ रे भन्ने थाहा छ तर कहिले चुनाव हो भोट कहिले दिने भन्ने थाहा छैन् । ‘बारी भन्नुहुन्छ चुनाव कहिले हो भोट कहिले दिने हो भन्ने कुरा धेरै मान्छेको भिड भएपछि र पुलिस धेरै आएपछि थाहा हुन्छ अहिले थाहा छैन कहिले चुनाव हुन्छ ।’ म मजदुरी गरेर खाने मान्छे पढे लेखेको छैन् । मलाई यस्तो कुरा कसले भन्छ गरिब मान्छेको कुरा कसले सुन्छ र हजुर हाँस्दै भन्नुभयो ।

जिल्लामा मतदाता शिक्षाको पहुँचमा नपुगेका यी पात्रहरु प्रतिनिधि मुलक पात्र मात्र हुन् । यी र यस्ता व्यक्तिहरु समाजमा धेरै छन् । जसले मतदाता शिक्षाका विषयमा जानकारी नहुँदा कोही सहयोगीको भरमा मतदान गर्न बाध्य हुन्छन् भने कतिपय मतदाताहरुले मतदानका विषयमा जानकारी नपाउँदा मतपत्र वदर भएका घटनाहरु पनि प्रशस्त भेटिन्छन् । इन्सेक लुम्बिनी प्रदेशका संयोजक भोला महतले निर्वाचन शिक्षा निर्वाचनको मुखमै संचालन गर्दा त्यसको प्रभावकारिता नदेखिएको अनुगमनका क्रममा पाइएकोले मतदाता शिक्षालाई प्रभावकारी रुपमा संचालन गर्दा खास गरी नयाँ मतदातालाई केन्द्रित गरेर गर्नुपर्ने बताउनुभयो । इन्सेकले निर्वाचन शिक्षालाई मध्यनजर गर्दै रेडियो कार्यक्रम र जिङ्गल मार्फत सूचना प्रवाह गरिरहेको बताउनुभयो । २०४८ सालदेखि निर्वाचनको पर्यवेक्षक गर्दै आइरहेको इन्सेकले यो पटकको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि लुम्बिनी प्रदेशमा झण्डै १ सय ५० जना निर्वाचन पर्यवेक्षक परिचालन गरेको बताउनु भयो । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, मर्यादित र भयरहित बनाउनका लागि इन्सेकले सबै स्थानीय तहमा निर्वाचनको अनुगमन गर्दै आएको छ ।

प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन आउन अब तीन दिन मात्र बाँकी छ । स्थानीय तहको निर्वाचनमा मतदाता शिक्षा नगरेको निर्वाचन आयोगले यस पटक स्थानीय तहसँगको समन्वयमा महिला स्वास्थ्य स्वंसेविका प्रत्येक वडामा एक जनाको दरले खटाएको जनाएको छ । रुपन्देहीका १६ ओटा स्थानीय तहका १ सय ५५ ओटा वडामा १ सय ५५ जना महिला स्वास्थ्य स्वम्सेविका खटाइएको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका निमित्त प्रमुख टेकराज पन्थीले बताउनु भयो ।

आयोगले मतदाता शिक्षाका विषयमा निर्देशिका बनाएर स्थानीय तहसँगको समन्वयमा वडा तहमार्फत मतदाता शिक्षा शिक्षा सञ्चालन गरेको जनाएको छ । मतदाता शिक्षा सञ्चालन गरिएको भनिए पनि मतदाताहरु मतदाता शिक्षाको पहुँचबाट बाहिर रहेको गुनासाहरु पनि त्यत्तिकै आएका छन् । भने महिला स्वास्थ्य स्वयंसेविकालाई मतदाता शिक्षाका लागि पठाउँदा निर्वाचन शिक्षामा पारदर्शिता नहुने कुराको गुनाशाहरु पनि आइरहेकाो छ भन्नु हुन्छ अधिकारकर्मी जगन्यनाथ कुर्मी ।

राष्ट्रिय मानव अधिकार आयोगका मानवअधिकार अधिकृत दिपक ठाकुरका अनुसार मतदाता शिक्षाका लागि खटाइएका अधिकांश महिला स्वास्थ्य स्वयम्सेविकाहरुलाई मतदाता शिक्षाको विषमा अनविज्ञ भएको र मतदाता शिक्षा भन्दा पनि पालिकाले उपलब्ध गराएको फर्मेट भरेर फर्केको देखिएको ले मतदाता शिक्षा नाम मात्र भएको बताउनु भयो । महिला स्वास्थ्य स्वमसेविका चन्दा विश्वकर्माले आफुलाई १५ दिनको लागि मतदाताका घरमा गएर विवरण ल्याउन लगाएको र नजानेका मतदातालाई सिकाउन पठाएको तर सेवा सुविधाका विषयमा केही पाइन्छ भनेको तर कति पाइन्छ आपूmलाई थाहा नभएको बताउनु भयो ।

सम्मरीमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुन्सी प्रसाद माझीले मतदाता शिक्षाको लागि महिला स्वास्थ्य स्वयम्सेविका फर्मेट उपलब्ध गराएको र खटाइएको र उहाँहरूले पाउने सेवा सुविधाका विषयमा के कति दिने भन्ने निर्वाचन पछि कार्यपालिकाको बैठकले तोक्ने बताउनुभयो र रुपन्देही जिल्लामा ६ लाख ३८ हजार ९ सय ५२ जना मतदाता रहेका छन् । यो संख्या लुम्बिनी प्रदेशका १२ जिल्ला मध्ये सबैभन्दा धेरै हो ।

अन्य

भिडियो