मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको क्रममा खटिने जिल्लाका सुरक्षाकर्मीलाई सेनेटरी प्याड हस्तान्तरण गरिएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र जिल्ला प्रहरी कार्यालय बागलुङको संयोजनमा आदर्श सञ्चार सहकारी संस्था बागलुङ र जास्वीन हाइजिङ प्रोडक्टद्वारा उत्पादित प्याड बागलुङ जिल्ला डिलर नर्वदा ट्रेडर्सको सहयोगमा निर्वाचनमा खटिने २ सय ६१ जना म्यादी र ६७ जना नेपाल प्रहरी गरी ३ सय २८ जना महिला सुरक्षाकर्मीलाई सेनेटरी प्याड हस्तान्तरण गरिएको हो ।
कार्यस्थलमा महिनावारी हुँदा महिला सुरक्षाकर्मीलाई पर्न सक्ने अफ्ट्यारोलाई सहज बनाउन र उनीहरूको मनोवल उच्च बनाउनको लागि सेनेटरी प्याड वितरण गरिएको आदर्श सञ्चार सहकारी संस्थाका अध्यक्ष हुमाकुमारी जिसी ‘अञ्जु’ले बताउनुभयो ।
३ सय २८ जनाको लागि प्याड र माक्स हस्तान्तरण गरेका छौं, परिमाण थोरै भए पनि सकरात्मक सन्देश र सकरात्मक उर्जा पैदा गर्नको लागि यो कार्यक्रमको आयोजना गरेका उहाँले बताउनुभयो ।
यस्तै जिल्ला प्रहरी कार्यालयले निर्वाचनमा खटिएका सुरक्षाकर्मीलाई प्राथमिक उपचारका लागि आवश्यक औषधि र स्वास्थ्य सामाग्री समेत सहयोग गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख एसपी दयानिधि ज्ञवालीले बताउनुभयो ।
‘हेर्दा सानो कुरा होला तर यो निर्वाचनमा खटिएका महिला सुरक्षाकर्मीका लागि निकै राम्रो काम हो, गाउँ–गाउँमा खटिएका महिला प्रहरीलाई सुरक्षामा खटिएकै समयमा महिनावारी भएको खण्डमा ठूलो राहत गर्नेछ’ ज्ञवालीले भन्नुभयो ‘महिलाको स्वास्थ्यमा सजकता अपनाउँदै सुरक्षालाई चुस्त बनाउन सबैको सहयोग आवश्यक हुन्छ, निर्वाचनमा खटिएका प्रहरीहरूको मनोवल उच्च बनाउन सहकारीले निर्वाह गरेको समुदाय प्रतिको चासोले ठूलो महत्व राख्छ ।’
कार्यक्रममा नेपाल पत्रकार महासङ्घ बागलुङका कार्यबाहक अध्यक्ष नविन शिशिर बिक, राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठ र सामुदायिक सेवा प्रहरी केन्द्र रामरेखाका अध्यक्ष दुर्गाबहादुर आचार्यले पनि आआफ्नो धारणा राखेका थिए ।
