अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले आईतबार कात्तिक २७ गते निर्वाचनपूर्वको अवस्थाका बारेमा जिल्ला स्थीत संचारकर्मिहरुसँग छलफल गरेको छ ।
इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतको आयोजनामाभएको कार्यक्रममा इन्सेकका पूर्व महासचिव डा. कुन्दन अर्याल, इन्सेक कर्णाली प्रदेश प्रमुख नारायण सुवेदी, कार्यक्रम संयोजक किरण पौडेल, नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष नविन पौडेल लगायत जिल्लाका सञ्चारकर्मिहरुकोे सहभागिता थियो ।
कार्यक्रममा जिल्लाका सञ्चारकर्मिहरुले जिल्लामा भएका निर्वाचनसँग सम्वन्धित क्रियाकलाप, आचारसंहिताको पालना, आयोग र दलका गतिविधि, जिल्लाको सुरक्षा चुनौती आदि विषयमा जिल्लाको अवस्थाबारे छलफल गरेका थिए ।
कार्यक्रममा बोल्दै इन्सेकका पूर्व महासचिव कुन्दन अर्यालले निर्वाचनलाई निष्पक्ष र भयरहित बनाउनका लागी पत्रकार र अधिकारकर्मीहरुले खेल्नुपर्ने भूमिकाबारे जानकारी गराउनुभएकोे थियो ।
नागरिकलाई स्वतन्त्ररुपमा मताधिकारको प्रयोग गर्ने वातावरणको लागि अधिकारकर्मी र पत्रकारहरुले जहिलेपनि सम्बन्धित पक्षहरुलाई घच्घच्याइरहनुपर्नेमा उहाँले जोड दिनुभएको थियो ।
यस्तै इन्सेकका कर्णाली प्रदेश प्रमुख नारायण सुवेदीले कार्यक्रमबारे प्रकाशपार्दै निर्वाचनलाई निष्पक्ष बनाउनका लागी इन्सेकले खेलेको भूमिकाबारे जानकारी गराउनु भएको थियो ।
छलफलका क्रममा पत्रकारहरुले नागरिक हितका सवालमा संचारकर्मी र अधिकारकर्मी एक भएर लाग्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा जिल्लामा क्रियाशील दुई दर्जन संचारकर्मी र अधिकारकर्मिहरुको सहभागिता रहेको थियो ।
