INSEC Online

📅 २०८३ जेष्ठ २१

निर्वाचन पूर्वको अवस्थाका विषयमा सरोकारवाला निकायसँग छलफल

आसन्न प्रतिनिधि र प्रदेश सभाको निर्वाचन पूर्वको अवस्थाका विषयमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले कात्तिक २६ गते सल्यान जिल्लाका सरोकारवालासँग छलफल गरेको छ ।

छलफलमा इन्सेकका पूर्व महासचिव कुन्दन अर्याल, इन्सेक कर्णाली प्रदेश प्रमुख नारायण सुवेदी, कार्यक्रम संयोजक किरण पौडेल लगायतको सहभागिता थियो । यसैगरी सल्यानका मुख्य निर्वाचन अधिकृत गिरीराज गौतम, प्रमुख जिल्ला अधिकारी विपिन आचार्य, डीएसपी दामोदर केसी लगायतको सहभागिता रहेको थियो ।

भेटका क्रममा मुख्य निर्वाचन अधिकृत गिरीराज गौतमले जिल्लामा निर्वाचनमा आचारसंहिता पालनाको विषयमा जानकारी गराउनुभएको थियो । निर्वाचन आचारसंहितासँग सम्वन्धित केहि मौखिक उजुरी परेको र उजुरी उपर स्पष्टीकरण सोधिएको उहाँले बताउनुभयो । उहाँले ठुलो पम्पलेट टाँस्ने, तोरन टाँग्ने, घरमा पम्पलेट टाँसेको जस्ता विषयमा उजुरी परेको बताउनुभयो ।

यस्तै प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले जिल्लाको सुरक्षा चुनौतीको रुपमा विप्लव नेतृत्वको नेकपा माओवादीका गतिविधि, दलहरूको आन्तरिक मतभेद, अन्तरसीमामा हुन सक्ने घटनाका प्रभाव आदि भएपनि अहिलेसम्म मतदातालाई कुनै धम्की नआएको बताउनुभयो ।

यस्तै डीएसपी केसीले जिल्लामा रहेका १ सय ११ मतदान स्थल मध्ये ४० अति संवेदनशिल, ६१ संवेदनशिल र १८ केन्द्र सामान्य रहेको बताउनुभयो । मतदान केन्द्र विद्यालय, वडा कार्यालय र सामुदायिक भवनमा राखिएको उहाँले बताउनुभयो ।

भेटका क्रममा इन्सेकको टोलीले निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नका लागि भएका प्रयास र योजनाका विषयमा छलफल गरेको थियो । जिल्लाको अवस्था बुझ्न आएको टोली यस अघि रुकुम पश्चिम र जाजरकोट जिल्लामा पुगेको थियो ।

Photosalyan20221112 (1) Photosalyan20221112 (2)

अन्य

भिडियो