INSEC Online

📅 २०८३ जेष्ठ २१

सप्तरीमा २ सय ८ मतदानस्थल अति संवेदनशील र ८३ संवेदनशील

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि सप्तरीमा तोकिएका मतदानस्थलमध्ये २ सय ८ ओटा मतदानस्थल अति संवेदनशील र ८३ ओटा संवेदनशील रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

चार ओटा निर्वाचन क्षेत्रमा २ सय ९५ मतदान स्थल रहेको सप्तरीमा चार ओटा मतदान स्थल मात्र सामान्य रहेको जिल्ला प्रहरी कार्यालयका एसपी अविनारायण काफ्लेले जानकारी दिनु भयो ।

एसपी काफ्लेले सुरक्षाको दृष्टिकोणबाट मतदान स्थललाई अति संवेदनशील, संवेदनशील र सामान्य गरेर वर्गिकरण गरिएको र सबै मतदान स्थलको अनुगमन निरीक्षण गरिएको बताउनु भयो । ‘सुरक्षा प्रवन्धलाई तीन चरणमा विभाजन गरेर काम अगाडि बढाइएको छ’–काफ्लेले भन्नु भयो–‘निर्वाचन पूर्व, निर्वाचनको दिन र निर्वाचन पश्चात गरेर सुरक्षा प्रबन्धको वर्गिकरण गरिएको छ ।’

प्रचार प्रसारका क्रममा राजनीतिक दलका कार्यकर्ताबीच दोहोरो झडप र विवाद नहोस् भन्नेतर्फ पहिलो ध्यान केन्द्रित गरिएको बताउनु भएका एसपी काफ्लेले ७ सय ६६ नेपाल प्रहरीसँगै ३ हजार २ सय ७८ म्यादी प्रहरीलाई जिल्लाभरी खटाइएको र व्यापक चेकजाँच भइरहेको बताउनु भयो ।

भारतबाट नेपाल प्रवेश गर्नेहरूको रेकर्ड राख्ने काम समेत भइरहेको जानकारी दिनु भएका एसपी काफ्लेले मतदान स्थलको अवस्था र सुधार गर्नुपर्ने विषय तथा मतदान अधिकृत र उम्मेदवारको सुरक्षामा प्रहरी गम्भिर रहेको बताउनु भयो ।

सिमा क्षेत्रमा हुन सक्ने अपराध नियन्त्रणका लागि सिमा सुरक्षा व्यवस्थापन लगायतका विषयमा विहार प्रान्तको सुपौल जिल्ला अधिकारीसँग छलफल तथा आवश्यक निर्णय गरिएको तथा मधुबनी जिल्ला अधिकारीसँग चाँडै नै नेपाल भारत सिमा जिल्ला समन्वय समितिको बैठक गर्न लागिएको उहाँले जानकारी दिनु भयो ।

अन्य

भिडियो