प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनका क्रममा सत्यतथ्यमा आधारित भएर पर्यवेक्षण गर्न रुकुम पश्चिमका मुख्य निर्वाचन अधिकृत खडकबहादुर केसीले इन्सेकलाई आग्रह गर्नु भएको छ ।
निर्वाचन पूर्वको अवस्थाका विषयमा अनुगमन गर्न कात्तिक २५ गते रुकुम पश्चिम पुगेको इन्सेकको टोली समक्ष मुख्य निर्वाचन अधिकृत केसीले उक्त आग्रह गर्नु भएको हो ।
पर्यवेक्षकले निर्वाह गर्नुपर्ने भूमिकाका सन्दर्भमा आफ्नो परिधि भित्र रहेर पर्यवेक्षण गर्नुपर्नेमा मुख्य निर्वाचन अधिकृत केसीले जोड दिनु भएको थियो ।
इन्सेकका पूर्व महासचिव डा. कुन्दन अर्याल, इन्सेकका कर्णाली प्रदेश संयोजक नारायण सुवेदी, परियोजना संयोजक किरण पौडेलसहितको टोलीले निर्वाचन पूर्वको तयारी अवस्थाका विषयमा रुकुम पश्चिमस्थित सरोकारवाला निकायसँग छलफल गरेको छ ।
अनुगमन टोलीले प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरे, जिल्ला प्रहरी कार्यालयका डीएसपी बिष्णु सोतीसँग भेटघाट तथा छलफल गरेको थियो । छलफलमा मुख्य निर्वाचन अधिकृत केसीले जिल्लामा आचारसंहिता उल्लङ्घनका लिखित उजुरी अहिलेसम्म प्राप्त नभएको जानकारी दिनुभयो । राजनीतिक दलका बीचमा मतभेद हुनु नै यस क्षेत्रको चुनौती रहेको उहाँले जानकारी दिनुभयो । त्यसैगरी प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले मतदान स्थलको संवेदनशीलताको आधारमा सुरक्षा व्यवस्था मिलाइएको र त्यसका लागि थप सुरक्षाकर्मी आउने काम भइरहेको बताउनुभयो । हाल जिल्लामा १ लाख ४ हजार २ सय ८० मतदाता रहेको प्रजिअ घिमिरेले जानकारी दिनुभयो । त्यस्तै मतदाता शिक्षाको कार्यक्रम स्थानीय तहले गर्ने भनेपनि त्यसको प्रभाव कम देखिएको भेटघाटका क्रममा उहाँले जानकारी दिनुभयो ।
भेटघाटमा जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी सोतीले भौगोलिक विकटताले सुरक्षा व्यवस्थामा थप चुनौती रहेको जानकारी दिनुभयो । स्थानीय तहको निर्वाचनमा भएका झडपका घटना यसपटक नभएको उहाँको भनाई छ ।
अनुगमन टोलीले मुसिकोट नपास्थिग वार एशोसियसनमा आयोजना गरिएको नमुना मतदानको समेत अनुगमन गरेको छ । नमुना मतदानमा मतपेटिका शिलबन्दी गर्ने तरिका, कर्मचारी बस्ने स्थान, मतदान अधिकृत र सहायक मतदान अधिकृत बस्ने स्थान र उहाँहरूको भूमिका लगायतका विषयमा डेमो गरिएको थियो । नमुना मतदानमा करिब एक सय जना सहभागि भएको आचार संहिता अनुगमन अधिकृत बोमलाल पराजुलीले जानकारी दिनु भएको छ ।
आचारसंहिता अनुगमन अधिकृत पराजुलीका अनुसार सामाजिक सञ्जालको प्रयोग गरेर केही शिक्षकले उम्मेदवारको प्रचार गरेको विषयमा सचेत गराइएको छ ।
