INSEC Online

📅 २०८३ जेष्ठ २१

मतदान गर्नबाट वञ्चित गरिएको कैदीबन्दीहरुको गुनासो

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा जिल्ला कारागार, कैलालीका ५ सय ३७ जना कैदीबन्दीहरु मतदान गर्नबाट वञ्चित हुने भएका छन् ।

मतदाता नामावली संकलनका क्रममा आफूहरुलाई जानकारी नदिएका कारण मतदाता नामावलीमा नाम छुट्न गएपछि मताधिकारको अधिकारबाट वञ्चित हुनु परेको जिल्ला कारागार, कैलालीमा रहनु भएका कैदीबन्दहरुले गुनासो गर्नु भएको छ  ।

१ सय ५० जनाको क्षमता रहेको जिल्ला कारागार, कैलालीमा ३७ जना महिला सहित ६ सय १० जना कैदीबन्दी राखिएको भएपनि एक महिला सहित ३६ जनाको मात्रै मतदाता नामावलीमा नाम समावेश गरिएको छ । उहाँहरुले मात्रै आगामी निर्वाचनमा मतदान गर्न पाउने भएका छन् ।

कैदीबन्दीहरूलाई नामावली संकलनका क्रममा अवसर नदिएका कारण आफूलगायत अन्य कैदीबन्दीहरु मताधिकारबाट वञ्चित हुनु परेको कैदी शर्मिला गुरुङले गुनासो गर्नु भयो ।

उहाँले भन्नु भयो– ‘धेरैजसो कैदीबन्दीका नाम छुटेका छन् । धेरैले मतदाता नामावली संकलन गरिरहेको भन्ने जानकारी नै पाएनन् । लामो समयदेखि कैद भुक्तान गरिरहेका कैदीहरुलाई मतदाता नामावलीमा नाम दर्ता गराउनु पर्छ भन्ने जानकारी पनि भएन् ।’

जिल्ला कारागार भित्र अस्थायी मतदान स्थलको व्यवस्थाले मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्यको समानुपालिक तर्फ मतदान गर्न पाउदा खुसी भएको तर धेरै जना कैदीबन्दीहरु मतदान गर्न पाउने अधिकारबाट वञ्चित हुनु भएको कैदी मिनबहादुर खड्काले बताउनु भयो ।

निर्वाचन आयोगले मतदाता नामावली संकलनको बेला प्रक्रिया नपुगेर तथा विभिन्न कारणबाट छुटेका कैदीबन्दीहरुले निर्वाचनमा भाग लिन नपाउने जिल्ला कारागार, कैलालीका जेलर नरबहादुर थापाले बताउनु भयो ।

उहाँले भन्नु भयो– ‘केहीको नागरिकता बनेको छैन । निर्वाचनको मिति घोषणा भइसकेपछि नाम संकलन गर्न समय नभएकोले धेरैको नाम छुट्न गएको छ ।’

निर्वाचन आयोगले अस्थायी मतदानका लागि जिल्ला कारागारमा नामावली संकलन गर्ने क्रममा धेरैको नागरिकता नभएको र मतदानप्रति चासो नभएर छुट्न गएको निर्वाचन कार्यालय, कैलालीका सूचना अधिकारी राजेश चौधरीले बताउनु भयो ।

पाँच ओटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको यस जिल्लामा ११ जना एलजीविटिक्यूप्ल र २ लाख ७३ हजार ८ सय ८३ मिहला सहित ५ लाख ३५ हजार ५ सय १४ जना मतदाता रहेका छन् ।

अन्य

भिडियो