अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) ले जिल्लामा सरकारका प्रतिनिधि, सरोकारवाला र अधिकारकर्मीसँगको छलफलपछि भयरहित र निश्पक्ष ढङ्गले नागरिकको मताधिकारको प्रयोग सुनिश्चित गर्न आग्रह गरेको छ ।
मङ्सिर ४ गते हुने प्रतिनिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन ०७९ मा जिल्लामा निर्वाचनको तयारी, निश्पक्ष र भयरहित वातावरणमा नागरिकले मताधिकारको अधिकारको प्रयोगलगायतका विषयमा इन्सेकले जिल्लामा सरकारका प्रतिनिधिसहित सरोकारवाला समक्ष छलफल गरी मताधिकारको सुनिश्चित प्रयोगका लागि आग्रह गरेको हो ।

इन्सेक केन्द्रीय कार्यालयको निर्वाचन अनुगमन टोलीले कात्तिक २४ गते जिल्ला निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र अधिकारकर्मीसँग छुट्टाछुट्टै भेटघाट गरी निर्वाचनका विषयमा जानकारी लिएको छ ।
इन्सेक अध्यक्ष डाक्टर इन्दिरा श्रेष्ठ, कार्यकारी निर्देशक विजय गौतम, इन्सेक प्रदेश १, प्रमुख सोमराज थापासहितको टोलीले कात्तिक २४ गते जिल्लामा निर्वाचनको विषयलाई लिएर सरोकारवालाहरूसँग भेटघाट तथा छलफल गरेको हो ।
प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुङ्गानाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि सम्पूर्ण तयारीहरू पूरा भइसकेको र जिल्लामा शान्ति सुरक्षामा समस्या नभएको अनुगमन टोली समक्ष बताउनु भयो ।
जिल्लामा १ सय ५० ओटा मतदानकेन्द्र रहेको र जिल्लाको दुई ओटा क्षेत्रमध्ये क्षेत्र न.२ निर्वाचनमा खटिनुहुने मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूलाई तालिम दिएको ढुङ्गानाले जानकारी गराउनु भयो । उहाँले मतदानका समयमा ज्येष्ठ नागरिक, गर्भवती र महिलालाई विशेष प्राथमिकताका आधारमा मतदानमा सहभागी गराउन निर्देशन दिएको बताउनु भयो ।
जिल्लाका सबै मतदान केन्द्रहरूमा सवारीसाधन पुग्ने, अपाङ्गमैत्री, ज्येष्ठ नागरिक, गर्भवती महिलाहरूलाई प्राथमिकताको आधारमा मतदान गर्ने व्यवस्था गरिएको इन्सेक टोली समक्ष प्रमुख जिल्ला अधिकारीले बताउनु भयो ।
छलफलका क्रममा इन्सेक कार्यकारी निर्देशक विजयराज गौतमले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई स्वच्छ ,भयरहित र सफल बनाउनका लागि इन्सेकले देशभर पर्यवेक्षणहरू परिचालन गरेको र चुनावका दिन विशेष ढङ्गले पर्यवेक्षण परिचालन गर्ने बताउनु भयो ।
सरकारका प्रतिनिधिसँगको भेटमा इन्सेक अध्यक्ष डाक्टर इन्दिरा श्रेष्ठले भयरहित र निश्पक्ष ढङ्गमा नागरिकले मतदान गर्न पाउने अधिकार भएकाले त्यसको सुनिश्चिता राज्यले गर्न आवश्वयक भएको बताउनु भयो । उहाँले इन्सेकले देशभर पर्यवेक्षण परिचालन गरी निश्पक्ष र भयरहित वातावारणमा निर्वाचन सम्पन्न गराउन इन्सेकले सहयोग गर्ने बताउनु भयो ।
निर्वाचन नजिकिए सँगै जिल्लामा मतदाताहरूलाई प्रभाव पार्ने वा दबाब परे नपरेको र स्वतन्त्र ढङ्गले मतदान गर्न पाउने अधिकार सुनिश्चित गर्नका लागि जिल्लामा चुनाव तयारीका विषयमा सरोकारवालाहरू समक्ष छ्लफल गरिएको इन्सेक प्रदेश १, प्रमुख सोमराज थापाले बताउनु भयो ।
मानवअधिकार मञ्च इलामका अध्यक्ष मोहनसिंह थेवेले मङ्सिर ४ गते हुने निर्वाचन निर्वाचनमा निर्वाचन आयोग गम्भीर रहेको र कुनैपनि राजनीतिक दलका नेता तथा कार्यकर्ताहरूले आयोगले जारी गरेको आचारसंहिता विपरित काम गरेमा तत्काल स्पष्टीकरण सोध्ने,कारबाही गर्ने गरेको तथा जिल्लामा गम्भीर किसिमको आचारसंहिता विपरित कार्यहरू नभएको बताउनु भयो ।
पत्रकार भीम चापागाईंले जिल्लामा विभिन्न राजनितिक दलका उम्मेदवारहरू गाउँगाउँमा भोट माग्न व्यस्त भएको, भोट माग्ने कार्यमा कुनै पनि विपक्षी पार्टीका कार्यकर्ताहरूबिच झैझगडा तथा ढुङ्गामुडा प्रहार गर्ने कार्यहरू नभएको बताउनु भयो ।
उहाँले यसअघिका निर्वाचनमा जस्तो राजनीतिक दलका उम्मेदवारहरूले कार्यकर्ताहरूलाई आफ्ना मतदाताहरूलाई भेला गरेर भोजलगायत कार्य नगरेको तथा कुपन वितरण गर्ने कार्य नभएको बताउनु भयो ।
इन्सेक अनुगमन टोलीले झापा, इलाम र मोरङमा सरकारका प्रतिनिधि, अधिकारकर्मी र सरोकारवालासँग भेट गरी नागरिकले निश्पक्ष र भयरहित वातावरणमा मतदान दिन पाउने अधिकार सुनिश्चित गर्न आग्रह गर्दै आएको छ ।


