प्रतिनिधि सभा सदस्यका लागि डडेल्धुरा जिल्लाबाट स्वतन्त्र उम्मेदवार रहनु भएका सागर ढकालले प्रहरी प्रशासनले आफूलाई निर्वाचन प्रचारप्रसार गर्न नदिएको आरोप लगाउनु भएको छ ।
कात्तिक २१ गते सदरमुकामस्थित बसपार्क र तुफानडाडा क्षेत्रमा निर्वाचन प्रचारप्रसार गरिरहेका बेला आफ्नो समूहमाथि जिल्ला प्रशासनले रोक लगाएको ढकालको आरोप छ ।
नेपाली कांग्रेसका सभापति तथा आफ्ना प्रतिस्पर्धी शेरबहादुर देउवाकोे कार्यक्रम तथा चुनावी सभाहरु गर्दा प्रशासनले रोक नलगाइएका भएपनि आफूले एक्लै प्रचारप्रसार गर्दा प्र्रशासनले रोक लगाउँदै आएको बताउनु भयो ।
नियम, कानुन सबैका लागि समान रहेको भन्दै देउवालाई जस्तै आफूलाई पनि प्रचार गर्न दिनु पर्ने स्वातन्त्र उम्मेदवार ढकालको माग छ ।
उहाँले भन्नु भयो– ‘शेरबहादुर देउवाले खुलमखुल्ला नियम कानुन उल्लङ्घन गर्दा आँखा बन्द गरेको प्रशासन मैले एक्लै माइकिङ्ग गर्दा पनि रोकेको छ ।’
जिल्ला प्रशासन कार्यालय, डडेल्धुराले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विरुद्ध स्वतन्त्र उम्मेदवारी दिनु भएका सागर ढकाललाई कुनै पनि प्रकारको अवरोध नगरेको भन्दै कात्तिक २१ गते विज्ञप्ति जारी गरेको छ ।
ढकाललाई चुनाव प्रचारप्रसारमा रोक लगाएको सामाचारहरु प्रकाशित भएपछि प्रशासनले खण्डन गर्दै विज्ञप्ति निकालेको हो ।
जिल्ला प्रशासन कार्यालयद्वारा जारी विज्ञप्तिमा स्थानीय प्रहरी प्रशासनद्वारा कुनै पनि प्रकारको अवरोध नगरिएको, रोक नलगाइएको र सम्पूर्ण राजनीतिक दल तथा उम्मेदवारहरुको आवश्यक सुरक्षाको प्रत्याभूति गरने उल्लेख छ ।
